गुल्मी,मङ्सिर ९ ।
गुल्मी क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारी बिजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरे ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन् । बिस २०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो ।
त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।
गुल्मीमा चन्द्र र प्रदीपले पालैपालो जित्दै आएका छन् । डा.भण्डारीले चौथो प्रतिस्प्रर्धामा दोस्रो जित निकालेका हुन् ।

गुल्मीको छत्रकोट गाउँपालिका– १ हुँगामा जन्मिएका नेता भण्डारी नेपाली कांग्रेसले सञ्चालन गरेको पञ्चायत विरुद्धको आन्दोलनसँगै राजनीतिमा होमिएका थिए ।
युवा अवस्थादेखि नै स्पष्ट वक्ता भण्डारी राजनीतिक चेतप्रति स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि प्रभावित बनेका थिए । नेपाली कांग्रेसले नेतृत्व गरेको २०४६ सालको जनआन्दोनका क्रममा कोइरालाई पञ्चायत विरुद्धको विभिन्न आन्दोलनमा कमाण्डको रुपमा विभिन्न जिल्ला खटाएको थियो । 
निर्दलीय पञ्चायत व्यवस्था विरूद्धको आन्दोलनमा भण्डारी पक्राउ परी पाँच वर्ष जेल जीवन बिताएका थिए । उनीमाथि तत्कालीन राज्य व्यवस्थाले चरम यातनासमेत दिएको थियो ।
२०१८ सालमा गुल्मीको हुँगामा जन्मिएका भण्डारी २०३३ सालमा वीपी कोइरालाबाट प्रभावित भई नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए । ३०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनले २०३६ सालको आन्दोलनका क्रममा पक्राउ परी जेल परेका थिए ।
२०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको नेपाल विद्यार्थी संघका सभापति बनेका भण्डारी २०४२ सालको सत्याग्रह आन्दोलनमा रहेका बेला जेल परे । २०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । पञ्चायत विरूद्धको आन्दोलनमा सक्रिय भएका उनी तत्कालिन व्यवस्थाको आँखाको तारो बनेका थिए ।
२०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा गिरिजा प्रसाद कोइरालासँग देशभर भएको आन्दोलनको अग्रमोर्चामा खटिने भण्डारी उपस्थित नहुने आन्दोनल खल्लो हुने स्वयं कोइरालाले बताउने गर्दथे । पार्टी भन्दा देश माथि रहनुपर्छ भन्ने भण्डारीको दृष्टिकोण र पञ्चायत ढाल्न उनले गरेका भाषण नेपालको राजनीतिमा अहिले पनि चर्चा हुने गर्छ ।
पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलको स्थापना पछि २०४८ सालमा भण्डारी नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीमा निर्वाचित बनेका थिए । २०६२–०६३ को जनआन्दोलमा सक्रिय रही संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई कांग्रेसमा गणतन्त्रको एजेण्डा प्रवेश गराएको श्रेय दिने गरिन्छ ।
यी समाचारहरु पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)