गुल्मी,असोज २२ ।
नेपालीहरुको महानचाड बडा दशैमा मान्यजन, जेष्ठ नागरिक तथा उच्च पदस्थ व्यक्तिबाट टिका र आर्शीवाद लिने चलन छ । शक्ति पिठ, तथा शक्ति केन्द्रको दर्शन गरी आर्शिवाद लिने चलन छ ।
आर्थिक रुपमा सम्पन्न तथा हुने खानेका लागि दशै पर्व विशेष रुपमा मनाउने चलन छ । विपन्न बर्गका लागि दशै पर्व आउनु र नआउनुको खासै अर्थ राख्दैन । आर्थिक बोझ थप्ने भएकाले गरिव परिवारले दशैलाई दशाको सङ्ज्ञा दिने गरेको पनि सुनिन्छ ।
चाडपवको महत्व र गरिबीको बाध्यता बुझ्ने मन भयो भने गरिव र विपन्न परिवारमा समेत दशै लगायत चाडपव उल्लासमय बन्दो रहेछ । विगतमा दशै कस्तो हुन्छ भनेर अनुभुत गर्न नपाएका गुल्मीका विपन्न माझी समुदायले पछिल्लो समय दशै पर्व विशेष रुपमा मनाउन थालेका छन ।
नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले दशै पर्व विपन्न माझी बस्तीमा पुगेर मनाउन थालेपछि सो समुदायमा दशैको सम्पन्न परिवारमा जस्तै रौनक छाउन थालेको छ । नेता भण्डारीले विगत एक दशक देखि विपन्न माझी परिवारमा दशै पर्व मनाउने र खुसी साटासाट गर्न थालेपछि आफ्नो समुदायमा समेत दशैको खुसीयाली छाउन थालेको माझी परिवार बताउँछन् ।
दशै मनाउन शनिवार नेता भण्डारीले गुल्मी जिल्लाको दरबार गाउँपालिका–१ बलिथुम स्थित माझी बस्तीमा पुग्दा सयौ माझी परिवारमा खुसीको माहोल देखिन्थ्यो ।
स्थानीय होमबहादुर माझी विपन्न समुदायमा केन्द्रीय नेता सहित दशै मनाउन थाले पछि चार्ड पर्वको फरक अनुभुत गर्न पाएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएको आफ्नो समुदायमा विगतका बर्षहरुमा दशै पर्व कस्तो हुन्छ भन्ने अनुभूतसमेत गर्न नपाएको बताउनुभयो ।
उहाँले खोलमा माछा मारेर जिविको पार्जन गर्ने आफ्नो समुदायमा चाडपर्वको मनाउने चलन नभएको बताउँदै भन्नुभयो ‘‘दशै लगायत चार्डपर्व धनी तथा हुने खानेका लागि मात्र हो भन्ने थियो । तर डां चन्द्र भण्डारीले हामी जस्तो विपन्न समुदायमा दशै मनाउन थाले पछि बल्ल हामीले दशै पर्वको अनुभव गर्न पाएका छौँ।’’
उहाँले नेता भण्डारी आफ्नो बस्तीमा आएर दशैजस्तो विशेष पर्व मनाउन थालेपछि आफ्नो समुदाय अत्यन्तै खुसी र हर्षित भएको प्रतिक्रिया दिनुभयो । गुल्मी जिल्लाका अत्यन्तै विपन्न समुदाय माझी बस्तीको शैक्षिक, आर्थिक तथा सामाजिक विकासको दृष्टीले पछाडि परेको छ ।
नेता भण्डारीले उक्त विपन्न परिवारको अवस्था सुधार गर्ने उद्देश्ले चाडपर्व विशेष कार्यक्रम सोही समुदायमा मनाउन थालेको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जिविको पार्जन गर्न समेत कठिन माझी समुदायमा नेता भण्डारीले दशै पर्वको खुसी साटा साटको साथै सामाजिक तथा शैक्षिक सुधारका लागि झण्डै एक दशक पहिले देखि विशेष अभियान नै सूरु गर्नु भएको छ ।
स्थानीय होम बहादुर माझीका अनुसार नेता भण्डारीको बलिथुमको माझी बस्तीमा मात्र ५० वटा पक्की घर निर्माण गरी माझी परिवारलाई हस्तान्तरण गरिएको छ । शैक्षिक अवस्था अत्यन्तै कमजोर भएको सो बस्तीमा नेता भण्डारीको पहलमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ ।
माझी परिवारमा बालबालिकालाई विद्यालय पठाउने चलन अत्यन्तै कम थियो । गाउँमा विद्यालय स्थापना भएपछि माझी परिवारले आफ्ना सबै बालबालिका विद्यालय पठाउन थालेका छन ।
ती बालबालिका लागि नेता भण्डारीले शैक्षिक सामाग्री तथा उनका अभिभावकलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन थालेपछि माझी बस्तीको दैनिकी नै फेरिएको छ ।
दशै पर्व मनाउन नेता भण्डारी प्रत्येक बर्ष माझी बस्ती पुग्दा उनीहरुले आफ्नो अभिभावक आएको अनुभूत गर्ने गरेको स्थानीय लक्ष्मण भण्डारीले बताउँनुहुन्छ । नेता भण्डारीको पहलमा गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित माझी बस्तीमा झण्डै १०० बटा पक्की भवन निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको छ ।
त्यसैगरी छत्रकोट गाउँपालिका–१ बोटेगाँउ ९ माझी बस्तीका बालबालिकालाई समेत नेता भण्डारीको विशेष पहलमा बालबालिकालाई शैक्षिक समाग्री तथा अभिभावकलाई सहयोग सूरु भएसँगै समुदायको अवस्थामा परिवर्तन आएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)