बुटवल,साउन २७ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन् ।
गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
उनले नागरिक अनलाइनसँग भने -‘ अदालतबाट अन्तरिम आदेश आएन,मैले नैतिकताको आधार राजीनामा दिएँ ।’जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन् । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहेका थिए । पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् । ती सवै पोखरेल सरकार विरुद्धको गठबन्धनमा छन् ।
यता मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आजै प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । सरकार ढल्ने पक्का भएपछि आज बिहान एमाले संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिने संभावना छ ।

यी समाचार पनि हेराैँ : -
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)