बुटवल,बैसाख २३-
लुम्बिनी प्रादेशिक अस्पतालमा माैजुदा अक्सिजन सकिएपछि अस्पतालमा उपचाररत बिरामीहरु झन् पिडामा परेका छन् । गएराती आइपुग्नुपर्ने अक्सिजन सप्लायर्सले समयमा आपूर्ति नगर्दा कोरोना संक्रमित झन् थलामा परेका छन् । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा उपचाररत बिरामी ठूलो संकटमा परेका छन् ।
बिरामीको अत्याधिक चाप, अक्सिजन आपूर्ति पुरानै अवस्था र समयमा अक्सिजन आपूर्ति नहुँदा चरम अभावको अवस्था देखिन थालेको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा आज बिहान ११बजेसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए अवस्था बिजाेग हुन सक्ने नागरिक अनलाइलाई बताए ।
अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग रहेको छ । आपूर्ति दैनिक ८० देखि १०० सिलिण्डर मात्र छ । ‘हिजो ६० सिलिण्डर आएको थियो आज कतिबेला कति झर्ने हो थाहा छैन, आपूर्ति नबढाउने हो भने अवस्था खतरा तर्फ जाँदैछ,’उनले भने ।
बुटवलमा मात्रै अहिले दैनिक ३०० बढी कोरोना संक्रमित थपिँदै गएका छन् ।
अवस्था विकराल बन्दा पनि सरकारी संयन्त्रले के गरिरहेको छ भन्ने प्रश्न उठेको छ । मानव अधिकार तथा शान्ति समाजका रुपन्देही सभापति डिपि खनालले नागरिक अनलाइनसँग भने -‘नागरिकको ज्यान बचाँउनु राज्यको पहिलाे दायित्व हाे सरकार सधैँ चुकिरहेको छ ।’ यस्ताे समयमा सबैको हातेमालाे चाहिन्छ,सरकार कुनैपनि बहानामा जिम्मेवारीबाट पन्छिन पाँउदैन’ - उनले भने । यता प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेललाई भने फेसबुकमा सवाल-जवाफ र स्टाटस लेख्दैमा भ्याइनभ्याइ छ ।

यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)