Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

दशैं–तिहारको रौनकबीच रूपन्देहीमा धान भित्र्याउने चटारो

दशैं–तिहारको रौनकबीच रूपन्देहीमा धान भित्र्याउने चटारो

  • 78
    SHARES

  • दशैं–तिहारको रौनकबीच रूपन्देहीमा धान भित्र्याउने चटारो

    बुटवल,कार्तिक १४ ।

    नेपालीहरूका महान पर्वहरू दशैं–तिहारको रौनकबीच रूपन्देहीका किसानलाई पाकेको धान भित्र्याउने चटारो परेको छ । खेतमा धान पाकेर पहेँलपुर बनेपछि किसानहरू बाली काट्ने र स्याहार्ने काममा व्यस्त देखिन्छन। दशैं अघिनै कतिपय किसानले धान काटिसकेका छन् भने केही किसान भने अहिले धान काट्ने तयारीमा जुटेका छन् ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका–४, विष्णुपुर (शीतलकुञ्ज) क्षेत्रमा पनि किसानहरू धान भित्र्याउन व्यस्त देखिन्छन् । चाडपर्वको उल्लाससँगै पाकेको धान स्याहार्ने कामले किसानको दैनिकी व्यस्त बनेको छ । स्थानीय किसान दीपक डुम्रे (६४)ले यसपाली तीन कठ्ठा खेतमा खेती गरेर करिब १५ मुरी धान उत्पादन गरेको बताउनुभयो । उहाँका अनुसार धान उत्पादनका लागि बीउ खरिद, खेताला लगाउने र ट्याक्टरले खेत जोताउनेलगायत काममा करिब १० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

    २०३८ सालदेखि खेतीकिसानी गर्दै आउनुभएका डुम्रेले लामो समयदेखि कृषि पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । धान खेतीपछि सोही खेतमा विभिन्न प्रकारका हिउँदे बाली लगाउन सकिने उहाँले बताउनुभयो । धान काटिसकेपछि मकै, गहुँ, तोरी, मसुरो, तरकारी, राजमा र भटमास खेती गर्न सकिने उहाँको भनाइ छ। यसरी एउटै खेतमा मौसमअनुसार विभिन्न बाली लगाएर खेती गर्न सकिने र मनग्ये आम्दानी बढाउन सकिने उहाँले बताउनुभयो ।

    तर, खेतीपाती गर्दा छाडा गाईवस्तुका कारण बाली जोगाउन मुस्किल हुने गरेको डुम्रेले गुनासो गर्नुभयो । मेहनत गरेर लगाएको बाली छाडा गाईवस्तुले खाइदिने तथा नोक्सान पुर्‍याउने समस्याले किसानलाई चिन्तित बनाउने गरेको उहाँको भनाइ छ । बाली जोगाउन नसक्दा किसानले गरेको लगानी र मेहनत खेर जाने जोखिमसमेत रहने गरेको छ ।

    धान भित्र्याउने समयसँगै किसानहरू आगामी हिउँदे बाली लगाउने तयारीमा समेत जुट्ने गरेका छन् । खेतमा पाकेको धान काटेर घर भित्र्याएपछि पुनः अर्को बाली लगाउने तयारी गर्नुपर्ने भएकाले किसानका लागि यो समय निकैमहत्वपूर्ण छ । कृषि उत्पादन बढाउन सहज वातावरण, विउ,मल,बालीको सुरक्षा र खेतीपातीमा आवश्यक सहयोग भए थप राहत महसुस हुने किसानहरूको भनाइ छ ।जिल्लामा यस वर्ष ६३ हजार ५५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।

    जिल्लाको कुल क्षेत्रफल १ लाख २९ हजार ६७६ हेक्टर रहेकोमा ८९ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन रहेको छ। जिल्लामा धान उत्पादनको उच्च सम्भावना रहे पनि सिँचाइ सुविधा अझै सबै क्षेत्रमा पुग्न सकेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology