बुटवल ,कार्तिक १३ ।
तिहार तथा छठ पर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न र स्थानीय उत्पादनका फूल प्रयोग गर्न अपिल गरेको छ ।
स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहन गर्दै बुटवललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले उपमहानगरपालिकाले यस्तो आग्रह गरेको हो ।
उपमहानगरले पुष्प व्यवसायीहरूसँग छलफल गरेपछि स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिएको जनाएको छ ।
नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी नगरवासीका नामको अपिलमा तिहार तथा छठ पर्वका अवसरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्दा वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले प्लास्टिकका फूल तथा मालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादित फूलको प्रयोग बढाउन आग्रह गरेको छ ।
यसबाट स्थानीय पुष्प व्यवसायीको उत्पादनले बजार पाउने र स्थानीय अर्थतन्त्रलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाका अनुसार बुटवलका विभिन्न १७ वटा कृषि फार्मबाट माला बनाउन प्रयोग हुने फूल खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
स्थानीय उत्पादनको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय किसान तथा व्यवसायीलाई प्रोत्साहन मिल्ने उपमहानगरको विश्वास छ ।
तिहारमा फूल तथा मालाको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र वातावरणमैत्री ढङ्गले चाडपर्व मनाउन उपमहानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)