बुटवल,असार ५-
लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसदमाथि फेरि कारबाही सिफारिस भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पार्टीको ह्वीप उल्लंघन गरेकाले कारबाहीका लागि सिफारिस गरिएको जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले नागरिक अनलाइनलाई जानकारी दिए ।
‘उनीहरूले फेरि पार्टी ह्विप पुनःउल्लंघन गरे,हामीले कारबाही हुनुपर्यो भनेर पुनः केन्द्रीय कार्यकारिणी समितिमा सिफारिस गरेका छौं,’ जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले नागरिक अनलाइनसंग भने ।’
उनीहरुलाई केन्द्रले आवश्यक कारबाही गर्ने उनले बताए । वैशाख १९ मा पार्टीको ह्विप उल्लंघन गरेर मुख्यमन्त्री पोखरेलको पक्षमा उभिएको भन्दै कारबाही गरिएका जसपाका चार सांसदलाई दाेस्राे पटक कारबाहीका लागि जसपा प्रदेश समितिले केन्द्रमा सिफारिस गरेको हाे।
मुख्यमन्त्री शंकर पाेखरेललाइ समर्थन गरेपछि उनीहरू मन्त्री बनेका थिए। लगत्तै जसपा प्रदेश समितिले उनीहरूलाई कारबाही सिफारिस गरेको थियो र जसपाको उपेन्द्र यादव समूहले उनीहरूलाई कारबाही गरेको थियो।
आफूहरू अन्यायमा परेको भन्दै सर्वोच्च पुगेका जसपाका चार सांसदलाई सर्वोच्चले सांसद पद कायम रहने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। प्रदेश सरकारले केही दिनअघि ल्याएको सरकारको नीति तथा कार्यक्रमका विपक्षमा मतदान गर्न जसपाले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो। तर सरकारका मन्त्री उनीहरूले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका थिए।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)