बुटवल,असाेज २०-
प्रदेश ५ ले आजदेखि आधिकारिकरुपमा राजधानी र नाम पाएकाे छ । प्रदेश स्थापना भएकाे ९६७ दिन ३१ महिना २९ दिनकाे अवधिमा प्रदेशकाे न्वारन भएकाे हाे ।
प्रदेशसभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ देउखुरी कायम गरेकाे छ । प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।
अब प्रदेशको ५ को राजधानी दाङ देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।
त्यस्तै, शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको थियो।
प्रस्तावकाे पक्षमा ६९ र विपक्षमा १३ मत :
प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।
त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत परेको थियो। विपक्षमा ४ मत परेको छ। मतदानमा ८३ जना उपस्थित थिए। २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो। संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ।
भनिएको छ- यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।
त्यस्तै, धारा २९५ (२) मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था गरिएको छ।
प्रदेशको स्थायी राजधानी सार्न नदिने प्रयास असफल,कांग्रेसका ५ जनाले दाङको देउखुरीको पक्षमा मतदान गरे :
रुपन्देही आसपास जिल्लाका सांसदहरुको प्रदेशको स्थायी राजधानी सार्न नदिने प्रयास असफल भएको छ। नेकपालाई पार्टीले घोषित रुपमै दाङको देउखुरीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।
पार्टीको निर्णयलाई सत्तारुढ दल नेकपाका सांसदहरुले स्वीकारे। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले भने कांग्रेसको निर्णलाईलाई बेवास्ता गरिदिए। प्रदेशसभामा १९ सांसद रहेको कांग्रेसका ५ जनाले दाङको देउखुरीको पक्षमा मतदान गरेका छन्। तीमध्ये ३ जना दाङकै थिए।
दाङ ३ कबाट प्रत्यक्ष निर्वाचित सांसद डिल्लीबहादुर चौधरी, दाङकै अर्जुनकुमार श्रेष्ठ र शंकर गिरीले पक्षमा मत दिएका हुन्। श्रेष्ठ र गिरी समानुपातिक सांसद हुन्। प्युठानका पुराना नेता तथा प्रदेश सांसद बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त स्थानमा गिरी सांसद बनेका थिए।
बाँके र बर्दियाका सांसदले पनि प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावकै पक्षमा मतदान गरेका थिए। बाँकेका मोहम्मद याकव अन्सारी र बर्दियाबाट प्रतिनिधित्व गर्ने भुवनेश्वर चौधरीले दाङकै पक्षमा मतदान गरेका थिए। अन्सारी र चौधरी समानुपातिक सांसद हुन ।
बाँके २ ख बाट प्रत्यक्ष निर्वाचित सुरेन्द्रबहादुर हमाल भने उपस्थित हुन नसकेको बताइएको छ। हमाल बाँके राजधानी हुन नसके दाङको पक्षमा थिए।
प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।









यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)