बुटवल,बैसाख ८
जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेता आफू नै भएको दावी गर्दै नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेयले एमालेसँग सहकार्य गर्ने निर्णय नै आधिकारिक भएको बताएका छन् ।
पाण्डेले विज्ञप्ति जारी गर्दै दलको बैठकले एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेकाले कोही कसैलाई भ्रममा नपर्न पनि आग्रह गरेका छन् । वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै उनले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको दाबि गरे ।
‘कुनै फरक प्रसङ्गमा भएका हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ । त्यसैगरी प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानकारी गराउँछु’ उनले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् ।
उनले भर्खरै हिउँदे अधिवेशन सम्पन्न भएको र बर्खे अधिवेशन छिट्टै बस्ने भएकाले विशेष अधिवेशन बस्न आवश्यक नभएकाले जनता समाजवादी पार्टीले अधिवेशनका लागि समावेदन नगरेको समेत बताए ।
पाण्डेले एकीकरण भएपछि लुम्बिनीमा पार्टी समायोजन नभएकाले कारवाहीको हल्ला गर्नु आवश्यक नरहेको बताए ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)