बुटवल,जेठ २३ ।
बुटवल १५ सेमलारस्थित परोपकार कुञ्ज धाममा भौतिक संरचनाको काम थालिएको छ । आज एक समारोहका विचमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र भागवत भाष्कर पं कमलनयन गौतम लगायतले निर्माण हुने संरचनाहरुको शिलान्यास गर्नुभयो ।
पहिलो चरणमा सचिवालय,गार्ड रूम ,गुरू निवास, ४ सय जना अट्नेगरि भोजनालयको शिलान्यास भएको हो । नदीको तटमा पर्ने स्थानमा परोपकार कुञ्ज धाम निर्माण गरि धामलाइ अध्ययनको केन्द्र समेत बनाउदै युवापुस्तालाइ धार्मिक जागरणमा जोडेर संस्कार प्रदान गरिने परिकल्पनाकार भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
उहाँले आवश्यकताका आधारमा मुठीदान,पर्यावरण संरक्षण,जेष्ठ नागरिक चौतारी अभियानहरु देशैभर संचालन गरिएको जानकारी दिनुभयो । धामलाइ यसक्षेत्रकै नमुना बनाउन सकिने र सबैभन्दा पहिले जग्गा प्राप्तिको कामलाइ अगाडी बढाउन नगरप्रमुख पाण्डेयको भनाइ छ ।
पहिलो चरणमा १६ करोडको लागतमा विभिन्न संरचनाहरु बनाइने छ । परोपकार कुञ्ज धाम निर्माण समिति अध्यक्ष हरिध्वज मल्लले अब धमाधम काम हुने बताउनुभयो । धामक्षेत्रमा ३ बिगाहा ९ कठ्ठा ६ धुर जग्गा रहेको छ ।
सो अवसरमा बुटवल बुटवल उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा १५ अध्यक्ष शिव राना, रूपन्देही जिल्ला कार्यसमिति अध्यक्ष शान्ति अधिकारी, परोपकार सेमलार एकाइ समिति एकाइ अध्यक्ष डम्बरबहादुर भण्डारी, सचिव भिमप्रसाद सापकोटा लगायतले बोल्दै धामको विकासमा हातेमालो गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही धाममा हिजो फलफूलका बिरुवाहरु सहित बृक्षरोपण गरिएको थियो ।
देशभर विभिन्न अभियानहरू मार्फत परोपकारी कार्यहरू संचालन गरिरहेको राष्ट्रिय परोपकार महासंघ नेपालले गतबर्ष फागुन ४ गते देखि ११ गते सम्म श्रीमद् भागवत् धनधान्यान्चल महायज्ञ गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)