बुटवल,बैसाख २ ।
एक करोड ८१ लाख ७२ हजार रुपैयाँ लागतमा बुटवल उपमहानगरपालिकाका २३ स्थानमा उच्च क्षमताका हाइमास्ट लाइट जडानको कामले तिब्रता पाएको छ । अहिले ती स्थानहरुमा पोल राख्नका लागि बेस निर्माणको काम सकिएको छ । अब पाेल ठड्याएर टपमा हाइमास्ट लाइट जडान हुनेछ ।
२ फागुनमा पालिकाको ६५औ स्थापना दिवसको अवसर पारेर नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्याश तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका थिए । हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने धारणा समेत राखेका थिए ।
उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताए। उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको नागरिक अनलाइनलाइ बताए ।
बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन समेत सञ्चालन हुने उनको भनाइ छ।
उनले अहिले बुटवलमाविद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले नगरभित्रका विद्यालयबीचमा फुटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्मसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन चलाएको बताउँछन् ।
यस्तै उनले नगरभित्रका जेष्ठ नागरिक र अपांगता भएका र फरक क्षमता भएकाहरुको घरदैलोमै उपचार सेवा पुर्याउन बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको बताए।यस्ता धेरै कार्यक्रमले बुटवललाई सम्मुनत सहरका रुपमा स्थापित गर्ने बताउँदै उनले उज्यालो बुटवल कार्यक्रमले सहरलाई उज्यालो बनाउने र रात्रीकालीन बजार सञ्चालनका लागि समेत सघाउ पुर्याउने बताए।
बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन्। जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन्।
यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन्। यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए।
लाइअनुसार टेण्डरमार्फत नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)