बुटवल,पुस ६ ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा ६४ मतले शेरबहादुर देउवा विजयी भएका छन् । उनका प्रतिस्पर्धी गगन थापाले २५ मत ल्याएका छन् ।
कांग्रेस संसदीय दलमा ८९ सांसद छन् । बुधबार बिहान ८ देखि १० बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भएको थियो ।
थापालाई शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायतको समर्थन थियो भने देउवालाई उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतको समर्थन थियो ।
दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने थियो । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन आवश्यक थियो । देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा २ मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा आलोपालोबारे बन्दकोठामा गरिने निर्णय व्यक्तिगत हुने बताएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि थापाले पार्टीको निर्णयअनुसार आफ्नो नेतृत्वमा सरकार गठनका लागि संसदीय दलको नेताले पहल गर्ने बताए ।
साथै उनले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराएका छन् । ‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ,’ उनले भने, ‘होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)