बुटवल,मंसिर,२६।
बुटवल उपमहानगरपालिकाले दर्ता नभएका इरिक्सा तत्काल दर्ता गर्न आग्रह गरेको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।
बैठकले बुटवलमा सञ्चालन हुनेगरी थप १ सय ८४ इरिक्सालाई दर्ताका लागि आह्वान गर्ने र दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
‘बुटवलमा १४ सय ४० वटा इरिक्सा सञ्चालन गर्ने भनिएको छ, यसअघि १२ सय ५६ वटा इरिक्सा दर्ता हुन आएकोमा बाँकी १ सय ८४ वटा इरिक्सा दर्ताका लागि आह्वान गर्ने निर्णय भयो, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भन्नुभयो–जसअनुसार बुटवलमा बसोबास गरिरहेका आफ्नै नाममा इरिक्सा भएका, सवारी चालक अनुमति पत्र भएका र बीमा गरेका विपन्न र स्वरोजगार भएका रिक्सा दर्ता गरिनेछ र इन्धनबाट चल्ने रिक्सालाई पनि व्यवस्थापन गर्ने निर्णय भयो ।’
यस्तैगरी, बुटवल क्षेत्रमा ब्लो हर्न बजाउन निषेध गर्ने, मोडीफाई गरेका, स्वरुप परिवर्तन गरेका मोटरसाईकल चलाउन निषेध गर्ने निर्णय बैठकले गरेको छ ।
बुटवल क्षेत्रमा बस, जीप, इरिक्सा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरुले एकीकृत रुपमा सुधार अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहानगरपालिकाका प्रेस बिज्ञ सीपी खनालले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)