बुटवल,मंसिर,२६।
बुटवलको बुटवलमा ट्राफिक ब्यबस्थापनमा नगरपालिकाको चासो बढाएको छ । अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने निर्णय समेत भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।
बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नुभन्दा १ घण्टा अघिमात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउण्टरले डस्टविन राखी अन्यत्रको फोहोर व्यवस्थापन गर्ने, बस तथा जीप सञ्चालक संस्थाहरुले सवारी चालक र सहयोगीलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)