बुटवल,जेठ ९ ।
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन् । पाण्डेयले पहिलाे निर्णय भने बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेर काम सुरु गरेका छन् ।
‘हामीले अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम शुरु गर्नेछौं’,पाण्डेयले भने-, ‘दीर्घकालीनरुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं ।’ बुटवलमा करिब २० हजार सुकुम्बासी रहेको उपमहानगरको तथ्यांक छ ।
उनले चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा रोखर काम गर्ने बताए । अन्यकामहरु क्रमश गर्ने बताए ।
पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।
पदभार ग्रहणअघि हिन्दुपरम्परा अनुसार पूजा गरेर शुभ साइतमा पदभार ग्रहण गरिएको हो । उनको सपथ कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी,पूर्व मन्त्री,पूर्व सांसद,सांसद,निबर्तमान मेयर-उपमेयरहरुको सहभागिता रहेको थियो ।
यी समाचार पनि हेराैँ :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)