बुटवल, जेठ १२।
बुटवल उपमहानगरपालिकाका ६ वटा वडालाई कृषिको पकेट क्षेत्र घोषणा गरिने भएको छ । पकेट क्षेत्र बनाउन सोही अनुसारका कार्यक्रम ल्याउने नव निर्वाचित जनप्रतिनिधिले उद्घोष गरेका हुन् ।
नव निर्वाचित मेयर खेलराज पाण्डे र उप मेयर सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ देखि १९ नम्बर सम्मका सबै वडा कृषिका लागि अति उपयुक्त वडा रहेको भन्दै ति वडा लाई कृषि क्षेत्रको पकेट क्षेत्र विभाजन गरी सोही अनुसार ‘ग्रीन ल्याण्ड’ बनाउने बताएका हुन् ।
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समिति र बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिको आयोजना बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नव निर्वाचित मेयर खेलराज पाण्डेयले बुटवलका १४, १५, १६, १७, १८ र १९ वडालाई कृषिको विशेष क्षेत्र घोषणा गरी उत्पादनमा आधारित अनुदान सहितको कृषि क्षेत्र विकास गरिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने–‘ कृषि उपज केन्द्रको स्थान सानो भएको गुनासो आएको छ, विज्ञ, विशेषज्ञ संगको छलफल पछि हामी विस्तार गर्ने वा स्थानान्तरण गर्ने विषयमा हामी तयार रहेका छौ ।’ कार्यक्रममा बोल्दै नव निर्वाचित उप प्रमुख सावित्रा अर्यालले भनिन्–‘ बुटवलमा करोडौंको तरकारी आयात हुने गरेको पाइएको छ, त्यसमध्ये बुटवलका ६ वटा लाई प्रयोग गरेर आधा मात्रै भएपनि प्रतिस्थापन गर्न सकियो भने यसले किसान, व्यवसवायी र उपभोक्ता सबैलाई राहत हुने छ । ’
कार्यक्रममा बुटवल उपमहानगरालिका वडा नम्बर ६ का अध्यक्ष लेखनाथ न्यौपाने, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल), लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी समितिका अध्यक्षका अध्यक्ष बाबुराम भुषाल, बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक राम बहादुर खत्री लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)