बुटवल,जेठ ७ ।
बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरसहित बिजयी भएका छन् ।
पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।
२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको हाे।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गरेका थिए । मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै चार हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए ।
यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् ।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्तिसमेत एमालेबाट खोसिने संकेत देखिएको छ ।

नगर प्रमुखमा निर्वाचित भएपछि पाण्डेयले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने बताए । उनले सबैको राय सुझावका आधारमा काम गर्ने बताए ।
‘गर्नुपर्ने काम धेरै छन्, तर पहिलो काम बुटवल उपहानगरलाई सबैले अपनत्व लिनेगरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउँछु’, पाण्डेयले भने, ‘कार्यपालिका गठनपछि सबैको राय सुझावका आधारमा मात्रै निर्णय गर्छु एक्लै केही गर्दिन, अर्को मुख्य कुरा म शासक बन्दिन सेवक बन्छु ।’
चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउने, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण, मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको पाण्डेयले बताए ।
यी समाचार पनि हेराैँ :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)