बुटवल,मंसिर १८ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित मैदानमा छन् । बिहान १० बजेदेखि मतदान सुरु हुने छ भने मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ ।
संस्थापन पक्षका उम्मेदवार शाह सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट अमरसिंह पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन् ।
कांग्रेसको लुम्बिनी प्रदेश उपसभापतिका लागि संस्थापनबाट राजु खनाल र सुधाकर पाण्डे तथा पौडेल पक्षबाट भुवन श्रेष्ठ र अष्टभुजा पाठक प्रतिस्पर्धामा छन् ।
दुई महामन्त्री पदका लागि संस्थापनबाट जन्मजय तिमिल्सेना र खिमानसिंह रायमाझी तथा पौडेल पक्षबाट विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिएका छन् । ३ सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन तथा पौडेल पक्षबाट विष्णु खनाल (मुस्कान), खगराज पाण्डे र निमा गिरी प्रतिष्पर्धामा छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लामा पौडेल पक्षले सभापति जितेको छ ।रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ ।
बाँके जिल्लाको अधिवेशन अझै भएको छैन ।लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लाका लागि जिल्लागत निर्वाचन हुनेछ । जसमा १२ महिलासहित २४ जना र खुलामा पाँच महिलासहित १७ जनाका लागि निर्वाचन हुने निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले नागरिक अनलाइनलाइ बताए ।
समावेशी सदस्यमा खस आर्यतर्फ चार महिलासहित ८ जना, आदिवासी जनजातीमा दुई महिलासहित ५ जना, मधेशीमा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुमा २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपाङ्गमध्ये १ जना गरी ६१ जनाको लुम्बिनी प्रदेश समिति हुने काँग्रेसको विधानमा छ ।
लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६४८ जना मतदाता छन् ।
यी खबरहरू पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)