बुटवल,साउन २८ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।
चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्धिन खाँले नागरिक अनलाइनलाई बताए ।
केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थन सहित गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।
अल्पमतमा परेपछि नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट हिजो (बुधबार) राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमाेजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए ।

गठबन्धनमा नेपाली कांगेसका १९,माओवादी केन्द्रका १८,जसपाका ३ र जनमोर्चाका १ जना गरी ४२ जना सांसद रहेका छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।
गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही समेत मिसिएका छन् । गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदै छ । आजै अपरान्ह साढे ४ बजे सपथ ग्रहणको कार्यक्रम रहेको छ ।
काँग्रेसबाट डिल्ली चाैधरी,जसपाबाट सहश्राम यादव मन्त्री तथा फूलमति ढेँगा र सुमन शर्मा रायमाझी राज्यमन्त्री बन्दैछन् ।

यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)