बुटवल,कार्तिक १ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको पहिलो बैठक सम्पन्न भएको छ।उपमहानगर सभापति ज्योति भण्डारीको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण ,भवन निर्माणलगायतका विषयमा विभिन्न निर्णय गरेको छ।
बैठकले गणेशमान स्मृति भवनको पछाडि (पश्चिमपट्टि) रहेको खाली जग्गामा भवन निर्माण गर्नुका साथै भवनको माथिल्लो भागमा ट्रस निर्माण गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकमा नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाअन्तर्गतका १ देखि १९ वटै वडाका नवनिर्वाचित वडा सभापतिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खादा लगाएर सम्मान गरिएको थियो। वडा तहदेखि नगर, प्रदेश सभा र क्षेत्रीय तहसम्मका नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरिएको छ।
बैठकमा सभापति ज्योति भण्डारीले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।
बैठकमा उपसभापति गंगा पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का उपसभापति गणेश घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो। बैठकको सञ्चालन सचिव इन्जिनियर अर्जुन गिरीले गर्नुभएको थियो।
पहिलो बैठकले पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै वडा तहदेखि नगर तहसम्म संगठन विस्तार, आपसी समन्वय र पार्टीलाई जनतासँग थप नजिक बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)