बुटवल ,असोज २७ ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। संघको २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा टंकप्रसाद गैरेलाई पराजित गर्दै पौडेल विजयी भएका हुन्। पौडेलले ८३३ मत ल्याउँदा गैरेले ६०१ मत प्राप्त गरे।
बागलुङमा जन्मिएका पौडेल चार दशकदेखि उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय छन्। विभिन्न प्रतिष्ठित उद्योग तथा व्यवसायमा उनको लगानी छ। बुटवल हस्पिटल र एशोदा फुड्सलगायतका उद्योगमा आबद्ध पौडेलसँग सम्बन्धित उद्योग–व्यवसायमा झन्डै पाँच हजारले रोजगारी पाएका छन् ।
पौडेल बुटवल उपमहानगरपालिकाका वडाध्यक्षसमेत हुन्। बुटवल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्यदेखि उपाध्यक्षसम्मको भूमिका सम्हालिसकेका पौडेल संघको नेतृत्वमा आएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए। उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी निर्मित कसजूले ६९३ मत पाए। वाणिज्य उपाध्यक्षमा ७१९ मतसहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भए। उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले सात सय मत ल्याए।
महासचिवमा वसन्त ढकाल निर्वाचित भएका छन्। उनले ७१४ मत पाउँदा प्रतिस्पर्धी जमुना पौडेलले ७०२ मत पाइन्। कोषाध्यक्षमा ७३८ मतसहित टीकाराम बन्जाडे निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रतीक पोखरेलले ६७३ मत पाए।
दीपकप्रसाद चापागाईं ७५२ मत ल्याएर सचिव निर्वाचित हुँदा प्रतिस्पर्धी काशीराम शर्मा पौडेलले ६८४ मत पाए। सहकोषाध्यक्षमा निर्वाचित कमला पोखरेल पराजुली (मञ्जु)ले ८६८ मत ल्याइन्। उनका प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत पाए।
एसोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल, उद्योग सदस्यहरूमा गोपाल टन्डन, सुनिता शर्मा बन्जाडे, लेखनाथ भण्डारी र ज्ञानबहादुर पुन निर्वाचित भएका छन्। वाणिज्य सदस्यहरूमा गणेशप्रसाद भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्य निर्वाचित भए।
खुला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ (कमला), विष्णुप्रसाद उपाध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल, प्रदीप शाक्य, सुनिता अर्याल, महिला सदस्यमा मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)