बुटवल,असार १ ।
छात्राहरुलाई प्राविधिक क्षेत्रमा दक्ष बढाउने हेतुसहित रुपन्देहीको बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा नमुना कदम चालेको छ । नेपालमै नमुना हुने यसप्रकारको शैक्षिक कार्यक्रमले शिक्षा मात्रै होइन सीपलाइ समेत संगसंगै अगाडी बढाइ छात्राहरु दक्ष र सिर्जनशील हुनेछन् ।
एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका ४० जना छात्राहरुका लागि यो नमुना शैक्षिक कार्यक्रम अगाडि बढाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । छात्राहरुले प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०–२० जनाको आवेदन खुला भएको हो ।
बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाउ कार्यक्रम अन्तर्गत छोरी पढाउ,समाज बढाऔँ नारासहित यस प्रकारको कार्यक्रम पहिलोपटक संचालन गर्न लागिएको उहाँको भनाइ छ ।
छोरी पढाउ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम शुरु गरेको हो ।
उपमहानगरपालिकाले यसका लागि यसैबर्ष ५० लाख बजेट बिनियोजन गरेको हो भने यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रुपमा अगाडि बढ्ने उहाँको भनाइ छ ।
छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मदत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरिएकोले प्रभावकारी हुने अपेक्षा धेरैको छ । प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०–२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने गरि नगरपालिकासंग सम्झौता भैसकेको बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम बिभाग प्रमुख मानकाजी कुमालले बताउनुभयो ।
बिभाग प्रमुख कुमालका अनुसार २ बर्षे कोर्षका लागि भर्नाको आवेदन खुलाएको दुइदिनमा ५ जनाको आवेदन परेको जानकारी दिनुभयो ।
बजारमा रहेको बिद्यार्थी अभावको असर यस कार्यक्रममा समेत पर्न सक्ने उहाँको अनुमान रहेको छ ।बुटवल टेक्निकल इन्स्टिच्युटमा बिहान ६ देखि ८ बजेसम्म कक्षा र दिउसो गरि अध्ययन र अभ्यासको अवसर हुनेछ भने २४ महिने कोर्षमा केही महिना अन्य उद्योगहरुमा रोजगारीसहित अभ्यास गर्ने मौका समेत दिइने छ ।
उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाउ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम शुरु गरेको बुटवल ले जनाएको छ ।प्रमुख खेलराज पाण्डेयका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रुपमा अगाडि बढ्ने छ । छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मदत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्न यसले मदत पुग्नेछ ।
‘हामीकहाँ दक्ष जनशक्ति अभाव छ र सीप सिक्न चाहनेहरुको संख्या धेरै छ, अहिलेका लागि हामीले ४० जना छोरीहरुलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी बीटीआइसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका छौं,’ उहाले भन्नुभयो –यसलाई नियमित रुपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ ।
उपप्रमुख सावित्रादेवी अर्यालले छात्राहरुको जनशक्ति उत्पादनमा जोड दिने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । यसको सदुपयोग गर्न र दक्ष सीपयुक्त बन्न छात्राहरुलाइ उहाँको आग्रह छ ।
यसक्षेत्रमा सरकारी तहबाट निशुुल्क अध्ययनको सुबिधा पहिलोपटक दिन लागिएको बुटवल उपमहानगरपालिका शिक्षा शाखाका उपनिर्देशक टीकाराम पन्थीको भनाइ छ । यसले दक्ष मात्रै होइन रोजगारी समेत दिन सक्ने उहाँको विश्वास छ ।
इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङ दुबै प्रविधि शिक्षा प्रणाली अन्तर्गतका रहेको र जसले विद्यार्थीहरूलाई प्राविधिक सीप, ज्ञान, र रोजगारीको अवसर प्रदान गर्ने बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम संयोजक मानकाजी कुमालले बताउनुभयो ।
कुमालका अनुसार इलेक्ट्रिकल इन्जिनियरिङकाबाट रोजगारीको राम्रो अवसर साथै घरायसी र औद्योगिक प्रयोगमा दक्षता बढाउन सकिनेछ । त्यसा वायरिङ, मोटर मर्मत, ट्रान्सफरमर जडान आदि जान्ने हुँदा स्वरोजगारको राम्रो सम्भावना रहेको छ । त्यस्तै प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङले मेसिनसम्बन्धी ज्ञान दिनेछ ।
जस अन्तर्गत मोटर, पम्प, एन्जिन, वेल्डिङ, फिटिङ आदिमा दक्षता आर्जन,स्वरोजगारको सम्भावना,वर्कसप खोल्न, गाडी मर्मत गर्ने ग्यारेज चलाउन सकिने सीप प्राप्त हुन्छ भनेमिस्त्री, म्यान्टेनेन्स टेक्निसियन, वेल्डर, प्लम्बरको रूपमा काम गर्न सकिने छ ।
के-हो बुटवल टेक्निकल इन्स्टिच्युट (बिटीआइ) ?
बुटवल टेक्निकल इन्स्टिच्युट नेपालको पश्चिमी क्षेत्रमा स्थित एक प्रतिष्ठित प्राविधिक शिक्षा संस्थान हो । जुन १९६३ मा युनाइटेड मिशन टु नेपाल र नेपाल सरकारको सहकार्यमा स्थापित भएको हो । यसले प्राविधिक र व्यावसायिक तालिम प्रदान गर्दै उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
यहाँ डिप्लोमा तहका इन्जिनियरिङ कार्यक्रमहरू प्रि–डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ,प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङ तथा स्नातक तहका कार्यक्रमहरू चल्छन् । त्यस्तै विस्तारित र छोटो अवधिका तालिमहरूमा वेल्डिङ, मोटर मर्मत, प्लम्बिङ, सोलार इलेक्ट्रीशियन, कम्प्युटर अपरेटर, फर्निचर मेकिङ, मेशिन मर्मत, र अन्य प्राविधिक तालिमहरू हुन्छन् ।यसले उद्योगसँगको सहकार्य र रोजगारी समेत गरेको छ । ६३ भन्दा बढी उद्योगहरूसँग सहकार्य गर्दै आएको छ र यसको तालिम प्राप्त विद्यार्थीहरूको १०० प्रतिशत रोजगारी दर रहेको छ ।
यसले विद्यार्थीहरूलाई व्यावहारिक तालिम र उद्योगमा आधारित अनुभव प्रदान गर्दछ, जसले उनीहरूको रोजगारीको सम्भावना बढाउछ । २०२४ मा बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीचको सहकार्यलेलाई स्नातक तहका प्राविधिक कार्यक्रमहरूमा विस्तार गर्ने योजना बनाएको छ । यसले टनेल इन्जिनियरिङ, नदी इन्जिनियरिङ, आइटी, मेटल कास्टिङ, र अटोमोटिभ प्रविधिका क्षेत्रमा स्नातक तहका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)