Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इन्जिनियरहरू पूर्वाधार निर्माणका मात्र होइन, समाज रूपान्तरणका महत्वपूर्ण साझेदार

इन्जिनियरहरू पूर्वाधार निर्माणका मात्र होइन, समाज रूपान्तरणका महत्वपूर्ण साझेदार

  • 132
    SHARES

  • इन्जिनियरहरू पूर्वाधार निर्माणका मात्र होइन, समाज रूपान्तरणका महत्वपूर्ण साझेदार

    बुटवल,साउन १० ।

    ६४औँ इन्जिनियर्स दिवस नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा सप्ताहव्यापी रचनात्मक कार्यक्रमसहित सम्पन्न भएको छ। खेलकुद, सामाजिक उत्तरदायित्व, सम्मान तथा शुभकामना आदानप्रदानलगायत विविध गतिविधिमार्फत दिवस मनाइएको हो।

    शनिबार आयोजित समापन समारोहको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले इन्जिनियरहरू पूर्वाधार निर्माणका मात्र होइन, समाज रूपान्तरणका महत्वपूर्ण साझेदार भएको बताए। उनले आफ्नो पेशागत जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि इन्जिनियरहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

    कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष ई. महेश्वर लम्सालले संस्थाको स्थापना कालदेखि हालसम्मका उपलब्धिबारे प्रकाश पार्दै व्यवसायिक हकहित, क्षमता अभिवृद्धि तथा सामाजिक सेवाका क्षेत्रमा एशोसिएसन निरन्तर सक्रिय रहेको बताए। उनले यस वर्ष दौड, ब्याडमिन्टन, फुटसललगायत खेलकुद गतिविधिमार्फत सदस्यहरूबीच आपसी भाइचारा र सहकार्यको भावना थप मजबुत बनाउन सफल भएको बताए।


    कार्यक्रममा संस्थापक अध्यक्ष कुसुमराज ज्ञवाली, लुम्बिनी इन्जिनियरिङ कलेजका रामचन्द्र ढकाल, नेपाल इन्जिनियर्स एशोसिएसनका केन्द्रीय सचिव ई. विनोद प्रकाश पण्डित, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ई. राम पराजुली, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सहदेव खड्का तथा एशोसिएसनका उपाध्यक्ष शिवप्रसाद तिवारीले लुम्बिनी प्रदेशले देशभरमै उत्कृष्ट कार्यसम्पादन गर्दै इन्जिनियरिङ क्षेत्रमा उदाहरणीय भूमिका खेलेको बताए।

    उनीहरूले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले इन्जिनियरिङ क्षेत्रलाई थप प्रभावकारी, छिटो र नवप्रवर्तनमुखी बनाएको भए पनि यसको बढ्दो प्रयोगसँगै ऊर्जा खपत, वातावरणीय प्रभाव तथा दिगोपनाका चुनौतीहरू पनि बढ्दै गएको औँल्याए। ती चुनौतीलाई सम्बोधन गर्दै प्रविधिको जिम्मेवार र सन्तुलित प्रयोग आवश्यक रहेको उनीहरूको धारणा थियो

    वक्ताहरूले रुपन्देहीलाई इन्जिनियर उत्पादन गर्ने प्रमुख शैक्षिक केन्द्रका रूपमा उल्लेख गर्दै लुम्बिनी इन्जिनियरिङ कलेजबाट हालसम्म १५ हजारभन्दा बढी इन्जिनियर उत्पादन भएको दाबी गरे।

    यसैबीच, कार्यक्रममा प्रोभिन्स इन्जिनियर एक्सिलेन्स अवार्डबाट प्रविना घिमिरे, ई. हितेन्द्र रायमाझी तथा कृष्णलिला कन्स्ट्रक्सन प्रालिका ई. सचिन थापालाई विशेष सम्मान गरिएको एशोसिएसनका सचिव प्रवेश पौडेलले जानकारी दिए।

    सप्ताहव्यापी कार्यक्रमले इन्जिनियरहरूबीच व्यावसायिक एकता, अनुभव आदानप्रदान तथा सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ बनाएको आयोजकको विश्वास छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण १० २०८३०२:५०:४९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology