सिता पाण्डे (कंडेल) /बुटवल, जेठ २९ ।
नेपालको मध्यभागमा अवस्थित पहाड र तराइको संगमस्थल, पश्चिम नेपालको प्रमुख औद्योगिक एवं ब्यापारिक केन्द्र, ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वले भरिपुर्ण स्थल, बिभिन्न जातजाती, भाषाभाषी, बर्ग, धर्म, समुदाय, क्षेत्र लिङ्ग आदि सबैको साझा शहर, भनिन्छ ७ प्रदेश १४ अन्चल ७७ जिल्लाका मान्छे बसोबास गर्छन यहाँ, यसको बिच भागबाट तिनाउ अर्थात प्राचिन तिलोत्तमा नदि कलकलाउँदै बग्दछ ।
पुर्व पश्चिम, उत्तर दक्षिण चारैतिर आवत जावत गर्नका लागि चौबिसै घण्टा यातायातको सुबिधा, ब्यबसाय प्रबद्र्धनका लागि प्रमुख नाका तथा उत्तर तर्फबाट आउने शितल हावा, लम्बिनी जस्ता अन्तराष्ट्रिय महत्वका प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलको नजिक, यस्ता कयौँ बिशेषता र महत्वहरु रहेका छन, बुटवलका । यसका साथै आर्थिक, राजनैतिक, सामाजिक क्षेत्रमा पनि राष्ट्रियस्तरकै महत्व राख्ने बुटवल उपमहाननगर पर्यटन प्रबद्र्धन र यसको बिकासको क्षेत्रमा भने अलिक पछाडी परेको छ भन्दा नपर्ला ।
पश्चिम नेपालको प्रमुख शहर हाल लुम्बिनी प्रदेशको राजधानी समेत रहेको आधुनिक बुटवल नगर अर्थात यसको पुरानो र प्यारो नाम बटौली हो । स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि काठमाडौ र पोखरा जस्ता पर्यटकिय गन्तब्य स्थलमा पुग्न सर्वा्धिक महत्वको प्रवेशद्धार पनि हो बुटवल । बुटवल, राजधानी बाहिर दु्रुत गतिले विकास गरिरहको व्यवसायिक एवं शैक्षिक केन्द्र हो भने बसोबासका लागि रमाइलो र शान्त बस्तीका रुपमा यसको परिचय बनेको छ । सञ्चारका क्षेत्रमा मोफसलको राजधानीका रुपमा चिनिने बुटवल आर्थिक, सामाजिक र राजनैतिक दृष्टिले पनि मुलुककै अग्रपंक्तिमा रहेको शहर मध्ये एक हो ।

बिकासमा फड्को :
प्राचिन तथा ऐतिहासिक मात्रै हैन, पश्चिम नेपालको प्रमुख औद्योगिक एवं व्यापारिक नगरका रुपमा परिचित छ बुटवल । यहाँ साना, मझौला र ठूला गरी सयौँ उद्योगहरु र हजारौं व्यापारिक प्रतिष्ठानहरु सञ्चालित छन् । उद्योग व्यापार मात्र होइन शिक्षा र स्वास्थ्य सेवाका लागि पनि अत्यन्तै महत्वपूर्ण स्थान हो बुटवल । यहाँ सरकारी र गैरसरकारी क्षेत्रबाट दर्जनौ स्वास्थ्य सेवा प्रदान गर्ने निजी अस्पताल, नर्सिङ्ग होम र प्राइभेट क्लिनिकहरु सञ्चालित छन् ।
यसैगरी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा शैक्षिक क्षेत्रबाट आफ्नो पहिचान बनाउन सफल ठाउँ हो बुटवल । यहाँका सयौं सरकारी तथा निजी विद्यालयहरुले उच्च गुणस्तरिय शिक्षा प्रदान गरेका छन् । संस्कृति संरक्षणको क्षेत्रमा पनि बुटवलको योगदान प्रशंसनिय रहेको छ । यो शहर नेपालका सुरक्षा व्यवस्था सुदृढ भएका शहरहरु मध्ये मानिन्छ ।
ऐतिहासिक पक्ष :
इतिहासमा उल्लेख भए अनुसार चार शताब्दीअघि तत्कालिन पाल्पा राज्यको शीतकालीन राजधानीका रुपमा थियो बुटवल । वि.सं. १८७१ को बेलायती साम्राज्यवाद विरोधी युद्धमा बिजय हासिल गरि गौरव कायम गरेको यहाँको जितगढि किल्लाले अहिलेपनि हामीलाई स्वाभिमानी भई बाँच्न प्रोत्साहित गरिरहेको छ । बुटवल अर्थात तिनाउ पुर्वको खस्यौली र पश्चिमको बटौली शहरको पश्चिमतर्फ चुरेपहाडको काखमा मणिमुकुन्द सेन पार्क अर्थात फूलबारी, त्यसको ठिक पूर्वतर्फको थुम्कोमा हिलपार्क, बीचमा बगिरहेको तिनाउ नदी, उत्तरतिर नुवाकोट र बसन्तपुर डाँडाको खोँचबाट बुटवलतिर बहिरहने पहाडी शीतल बतास, कुईरेभिरको काखमा रहेका सिद्धबाबाको मन्दिर र सिद्धबाबाबा धाम यहाँका सुन्दर तथा दर्शनिय स्थलहरु हुन । यस्तै बुटवल १२ नयाँगाउँमा रहेको मुक्तिनाथ धाम, बुटवल तामनगरमा निर्माण भैरहेको बिश्व बिश्व शान्ति बाटिका आदि पनि आकर्षक र दर्शनीय स्थलका रुपमा बिकसित भैरहेका छन ।
बुटवल र सेरोफेरो :
यहाँबाट उत्तरतिर पाल्पा जिल्लाको रमणिय तानसेन नगर, श्रीनगर डाँडा, पाल्पा भैरवस्थान, नेपालको ताजमहल मानिने रानीघाटको रानीमहल जस्ता प्रसस्त मात्रमा सुन्दर तथा अति दर्शनीय स्थलहरु छन् । बुटवलबाट बिहान हिडेर ति स्थलहरुको भ्रमण गरि साँझ बुटवलमा बास बस्न फर्कन सकिन्छ ।
बुटवलबाट तानसेन हुँदै गुल्मीको रुरु, रेसुंगा र अर्घाखाँचीका पाणिनी, अर्घा, नरपानी, सुपादेउराली लगाएत महत्वपुर्ण ठाउँहरु घुम्न जान सकिन्छ भने सुन्दरताकी रानी पोखरा पनि ५—७ घण्टाको यात्रा गरेर पुग्न सकिन्छ । बुटवलबाट दक्षिण–पश्चिममा बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी रहेको छ भने यसको केहि कि.मि पश्चिममा बुद्धसँग सम्बन्धित स्थानहरु राज्य महर्षि कपिलको तपोभूमी कपिलवस्तु, राजा शुद्धोदनको तिलौराकोट स्थित दरबार लगायत बौद्ध परम्परासित सम्बन्धित अन्य स्थानहरु समेत प्रसस्त मात्रामा रहेका छन् ।
बुटवलदेखि पूर्वतर्फ भगवान बुद्धको मावली कोलीय राज्य अन्तर्गतका देवदह र रामग्राम जस्ता स्थानहरुका साथै त्रिवेणी दाउन्ने जस्ता पर्यटकिय दृष्टिले अवलोकन योग्य ठाउँहरु पर्दछन् । बुटवलको पश्चिमतिर पर्रोहा परमेश्वर बोलबम धाम, सैनामैना, गजेडीताल लगायतका थुप्रै धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं जैविक विविधताले भरिएका मनोरम स्थलहरु छन् । यस्तै बुटवलको उत्तरतर्फ पाल्पा जिल्लाको सुन्दर एवं शान्त गाउँ दोभान पनि आकर्षक पर्यटकिय गन्तब्य स्थलका रुपमा संभावना बोकेको ठाउँ मध्ये अग्रपंतीमा पर्दछ ।
बुटवलको सबैभन्दा नजिक दोभानको सुकेताल भन्ने गाउँमा होम स्टेको अवधारणा ल्याइ संचालनमा आएको छ । शहर नजिकैको रमणिय ग्रामिण बस्तीका रुपमा रहेको यो गाउँ पनि बिस्तारै पर्यटकिय आकर्षणको केन्द्रका रुपमा विकसित हुँदै गैरहेको आभाष हुन्छ ।
यसैगरी दक्षिणतर्फ शैक्षिक नगरीको रुपमा विकास भइरहेका ग्रामिण बस्तीहरु शंकरनगर र मणिग्राम पर्दछन् । शंकरनगरको बन बाटिका, मणिग्रामको ड्रिमल्याण्ड रिसोर्ट आदि यहाँका युवायुवतीका लागि भ्रमणयोग्य तथा अति आकर्षणका केन्द्र बन्दै गैरहेका छन । पूर्व, उत्तर र पश्चिमतिर हरियो चुरे पर्वतमाला, दक्षिणतिर तराईको मलिलो समथर भूमि, झन्डै ८ हजार हेक्टरमा फैलिएको छ यो शहर । यहाँबाट दैनिक १४ सय सवारी साधनहरु देशका विभिन्न ठाउँका लागि आवत जावत गर्दछन् ।
एक तथ्यांक अनुसार हरेक दिन करिव ६० हजार मानिस बिभिन्न सवारी साधन प्रयोग गरि ओहोर दोहोर गर्ने अर्थात बुटवल आउने र जाने गरेको अनुमान छ । हरेक दिन करिव १८ हजार मानिस यहाँ बास बस्ने र भोलिपल्ट जाने गरेको पनि उक्त तथ्याङ्कले बताएको छ । तर ति सबै पर्यटकिय भावना र उद्देश्यबाट प्रेरित भएका हुँदैनन् । अधिकांश ब्यापारिक उद्देश्यले आउने गरेको पाईन्छ थोरै संख्यामा मात्र शहर घुम्न रमाउन आएका हुनछन् ।
बटौली र फूलवारी :

बसपार्कदेखि उत्तर तर्फको महेन्द्र पार्क हुँदै तिनाउ पुल तरेपछि मात्र यहाँको प्राचिन सभ्यता बोकेको पुरानो बटौली बजार पुगिन्छ । आज भन्दा ५० बर्ष पहिलेसम्म निकै चम्किएको यो बजार अहिले भने प्रायः सुनसान रहन्छ । बटौली बजारको शिरमा अवस्थित पाल्पाली सेन बंशिय राजाहरुको शितकालिन दरवारको भग्नावशेष रहेको सो स्थानमा अहिले रमणिय, सुन्दर एवं आकर्षक फुलबारी अर्थात पार्क निर्माण भएको छ ।
मणिमुकुन्द सेन उद्यान नामाकरण गरिएको यो उद्यानमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक दृश्यावलोकनका लागि आउनुका साथै शुभबिबाह र वनभोजजस्ता कार्यक्रमहरु भैरहन्छन । यसको पश्चिम कुनामा पाल्पाली राजा मुकुन्दसेन प्रथमले निर्माण गरेको शीतकालीन दरबारको भग्नावशेष छ । भनिन्छ अंग्रेजसँगको युद्धमा नेपाली सैनिक अधिकारीहरुले यसको प्रयोग गरेका थिए ।
यहाँ १४ जना महत्वपूर्ण ऐतिहासिक व्यक्तित्व, आदीमानव, महामानव तथा पश्चिम नेपालका शहिदहरुको प्रतिमा एउटै ढुङ्गामा कुदेर राखिएको छ । बुटवलको. उत्तरमा चुरेपहाडको टुप्पामा बसन्तपुर र नुवाकोट भन्ने ठाउँछन् । बुटवलबाट छोटो समयमा पुग्न सकिने शितल पहाडी ठाउँ मध्ये प्रमुख ठाउँहरु हुन बसन्तपुर र नुवाकोट भन्ने गाउँ । बसन्तपुर देखि उत्तरपूर्वमा रहेको अर्को महत्वपुर्ण धार्मिक एवं पर्यटकिय स्थल हो सत्यवति, यहाँको सत्यकती लेक, कान नसुन्ने बहिरी सत्यवती माईको मन्दिर र त्यहाँको ताल पनि यस क्षेत्रको प्रसिद्ध तिर्थस्थल मध्ये एक मानिन्छ ।
बटौली र जीतगढी
फूलबारीबाट केही तल तिनाउको पश्चिमी किनारमा नेपाल र नेपालीको शान, वीरताको प्रतिक, ऐतिहासिक स्मारकको रुपमा रहेको छ जितगढी किल्ला । यही किल्लाबाट कर्नेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले चतुर बुद्धी र कुशल पराक्रम देखाएर तत्कालिन ईष्ट इन्डिया कम्पनी भनिने अंग्रेजी फौजलाई परास्त गरेको थियो । यस गढिको लम्बाई पूर्व–पश्चिम २०५ फिट र चौडाई ५५ फिट छ भने ८ फिन ४ इन्च मोटो छ । युद्धमा शत्रुलाई हेर्न र तोप–बन्दुकले प्रहार गर्न मिल्ने गरी यहाँ चरहरु, प्वालहरु र अर्ध गोलाकार बुर्जाहरु बनाइएको छन् । जितगढीदेखि नुवाकोटको गढीसम्म पुग्ने सुरुङमार्ग पनि छ भन्ने जनश्रुती छ । यसबारे बिस्तृत अध्ययन हुन बाँकी छ ।
सिद्धवावा र सिद्धवावा धाम :

:बुटवल शिरमा लुम्बिनी अन्चलको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध सिद्धबाबा मन्दिर, सिद्धबाबा धाम लगायतका महत्वपूर्ण स्थलहरु रहेका छन । नाङ्गा डरलाग्दा चट्टानहरुले बनेको कुइरे भिर, त्यसको काखमा रहेको छ, सिद्धबाबाको मन्दिर र सिद्धबाबा धाम । प्रत्येक बिहान तराई र पहाडबाट श्रद्धालु भक्तजनहरु सिद्धबाबाको दर्शन गर्न यहाँ आउँछन् । शनिबार र सोमबार त घुँईचो नै लाग्छ यहाँ । सिद्धबाबा अर्थात भगवान् शिवको दर्शनले शान्ति र आरोग्य मिल्ने तथा मनकामना पूरा हुने जनविश्वास पनि रहेको छ । यहाँको अर्को रमाईलो कुरा छ जुनसुकै मौसममा पनि सिद्धबाबा मन्दिरको माथि पहाडमा हरेक बिहान बादल अर्थात कुहिरो लागेकै हुन्छ । रहस्यमय ढंगले देखिने यो कुहिरोको बारेमा जनश्रुति के छ भने हरेक बिहान सिद्धबाबाले गाँजा खाएर धुवाँ उडाएको हो । यसको रहस्यका बारेमा अनुसन्धान भने हुन सकेको छैन ।
अन्य सम्पदा :
बुटवल नगरपालिका वडा नं. ३ मा अवस्थित पद्यचैत्य विहारमा धार्मिक भ्रमणका लागि देश बिदेशबाट बौद्धमार्गिहरु आउने गर्छन् । हरेक शनिबार यहाँ सामुहिक रुपमा विपश्यना ध्यान गर्ने व्यवस्था छ । त्यस्तै बुटवलको पुलचौकमा रहेको ब्रम्हाकुमारीय इश्वरीय बिश्व विद्यालयद्वारा स्थापित आध्यात्मिक संग्राहलय पनि अत्यन्तै दर्श्निय स्थल मध्ये एक हो । बुटवल ४ स्थित तिनाउ पुलको पश्चिम किनारमा दायाँतर्फ रहेको जामा मस्जिद यस क्षेत्रका मुसलमानहरुको पुरानो र प्रसिद्ध धार्मिक स्थल हो । यसको ठिक पुर्वतर्फ बुटवल ७ बिकासपथमा पनि अर्को मस्जिद निर्माण गरिएको छ । शिखहरुको गुरुद्वारा मन्दिर र क्रिश्चियनहरुका चर्चहरु पनि बुटवलमा प्रसस्त रहेका छन् ।
रामापिथेकस :
सिद्धबाबाबा स्थित कुहिरेभिरको पश्चिमपट्टिको पहरामा एक करोड दशलाख वर्ष पुरानो नरबानरको अवस्थाको मानव पुर्खाको अवशेष फेला परेको थियो । बुटवल मानव भनिने प्राचीन आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको यो ठाउँमा एशियाकै पहिलो मानव पुर्खाको बासस्थान थियो भन्ने सिद्ध भएको छ । यसैको सम्झनामा रामापिथेकसको जिवाश्म भेटिएको पहरा नजिकै सिद्धबाबा धामको केही तल रामापिथेकस पार्क बनाइएको थियो । पार्कमा रामापिथेकसको मूर्ति पनि स्थापना गरिएको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनी
विश्वका ज्योति, शान्तीका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनी हरेक पर्यटकका लागि महत्वपूर्ण गन्तब्य हो । त्यहाँ जान बुटवलबाट दक्षिण–पश्चिममा ४२ कि.मि. यात्रा गर्नुपर्छ । उत्तर–दक्षिण लम्बाई ३ माइल र पूर्व–पश्चिम त्त माईल क्षेत्रफलमा बुद्धदर्शन र बौद्ध धर्मको महान् तीर्थस्थलका रुपमा भव्यरुपले यसको निर्माण कार्य भइरहेको छ । विश्व शान्तिको शहरका रुपमा विश्वले यसको सम्मान गरेको छ । चीन, जापान, जर्मनी, भियतनाम, थाईल्याण्ड, म्यान्मार, कोरिया, कम्बोडिया लगायतका देशहरुले बनाएका भव्य संरचनाका विहारहरु यहाँका दर्श्निय वस्तुहरु हुन् ।
लुम्बिनी वन–वाटिका, मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करिणी पोखरी जस्ता महत्वपूर्ण दर्श्निय कुराहरुले सम्पन्न छ लुम्बिनी । बौद्ध शिक्षा अनुसारको विपश्यना ध्यानको प्रशिक्षणका लागि धम्मजननी र पण्डितराम भन्ने दुईवटा ध्यानकेन्द्रहरु यहाँ निरन्तर रुपमा सञ्चालित छन् । बुटवलबाट बिहान लुम्बिनी प्रस्थान गरी दिनभरी अवलोकन गरेर साँझ पुनः बुटवल फर्किन सकिन्छ । लुम्बिनी–दर्शन स्वदेशी बिदेशी हरेक पर्यटकको लागि जीवनको अविस्मरणिय घटना बन्न सक्छ ।
कपिलबस्तु र तिलौराकोट :
कपिलबस्तुको तिलौराकोटको दर्शनपछि मात्र लुम्बिनीको दर्शन पुरा हुन्छ भन्ने मान्यता रहि आएको छ । तिलौराकोट प्राचिन कपिलवस्तुको राजधानी हो । तपाइँ लुुम्बिनीबाट सिधै पश्चिम २८ कि.मि. यात्रा गरेर तौलिहवा शहर हुदै तिलौराकोट पुग्न सक्नु हुन्छ । बुटवलबाट सिधै कपिलवस्तुको ४ नं हुदै तिलोराकोट पनि पुग्न सकिन्छ ।
यहाँ प्राचिन कपिलवस्तुको राजदरबार, त्यसको वरिपरि बलियो सुरक्षा पर्खाल तथा बौद्ध स्तुपहरुका अवशेष अहिले पनि भेटिन्छन् । बौद्ध साहित्य र चिनियाँ यात्रीहरुको वर्णन गरेका वस्तु, स्तम्भ र स्थानहरु यहाँ उपलब्ध छन् । दरबारको पश्चिमतर्फ बाणगंगा अर्थात प्राचिन भागिरथी नदी बगेको छ ।
ज्ञानका लागी परिवार, दरबार र राज्य छाडेर परिव्राजक हुनुअघि गौतम बुद्धले बाल्यकाल र युवा अवस्थाका २९ वर्ष यहीँ बिताएका थिए । यसको सेरोफेरोमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तिपछि पहिलो पटक कपिलवस्तु जाँदा पितासँग भेट गरेको र ५०० शाक्यहरुलाई शिष्य बनाएको स्थान कुदान, क्रच्कुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, बुद्धसँग सम्बन्धित अर्को महत्वपुर्ण स्थल निग्लीहवा, सगरहवा लगाएतका महत्वपुर्ण स्थानहरु छन । यस्तै जैविक बिबिधताले भरिपुर्ण जगदिशपुर ताल, तौलिहवाको तौलेश्वर नाथ मन्दिर आदि कपिलबस्तुका अन्य धार्मिक तथा पर्यटकिय स्थलहरु हुन ।
देवदह र रामग्राम क्षेत्र :
बुटवलबाट १२ कि.मि. पूर्व, रुपन्देही केरवानी गा.वि.स.को भवानीपुरमा पर्छ प्राचीन देवदह । प्राचिन कोलिय गणराज्यको राजधानी मानिन्छ यो ठाउँ । यहाँ पुरातात्विक महत्वका वस्तुहरु प्रशस्त भेटिन्छन् । यो ठाउँ गौतम बुद्धकी आमा मायादेवी र अर्की आमा प्रजापतिका साथै पत्नी यशोधराको पनि माइति क्षेत्र हो । कोलीय गणराज्यको अर्को महत्वपूर्ण नगर हो रामग्राम । बुटवलबाट पूर्व–दक्षिणमा सुनवल र परासी शहर हुँदै करीब ३५ कि.मि.को दूरीमा रहेको छ रामग्राम क्षेत्र ।
भगवान् बुद्धको महापरिनिर्वाण अर्थात् देहावसान भएपछि कोलीयहरुले प्राप्त गरेको बुद्धको अस्थिधातु राखी रामग्राममा खडा गरेको स्तूप आज पनि विद्यमान छ । अन्यत्रका अस्थिधातुहरु सम्राट् अशोकले निकालेर पुनर्वितरण गरे तर यस ठाउँको अस्थिधातु यथावत् रुपमा सुरक्षित छ भनिन्छ । त्यसैले पुरातात्विक र धार्मिक दुवै दृष्टिले रामग्रामको स्तूप विशेष महत्वको छ ।
पाल्पा तानसेन :
बुटवलबाट मोटर चढेर उत्तरतर्फ चालिस कि.मि. यात्रा गरेपछि शीतल र हरियो वातावरणका माझमा रमणिय तानसेन शहर पुगिन्छ । सेन राज्यको राजधानी थियो यहाँ चार शताब्दी अघि । पर्यटकका लागि शीतल र रमणिय गन्तब्य हो पाल्पाको सदरमुकाम तानसेन । भगवती जात्रा यहाँको प्रसिद्ध जात्रा हो । यहाँ रणउज्जेश्वी भगवतीको मन्दिर, नारायण स्थानको मन्दिर, शीतल पाटी र प्राचिन दरबारका साथै अगाडिको विशाल ढोका तानसेनका महत्वपूर्ण दर्श्निय वस्तुहरु हुन् ।
तानसेनको अत्यन्त महत्वपूर्ण ठाउँ हो श्रीनगर ।
यहाँबाट उत्तरतिर माछापुछ«े अन्नपूर्ण हिमश्रृङ्खला, महाभारत पर्वतमाला र कालीगण्डकी प्रवाह क्षेत्रको रोमाञ्चक सौन्दर्य प्रष्टसँग देख्न सकिन्छ । यसको पूर्व, पश्चिम र दक्षिण तर्फका लेक, बेँसी र माडीफाँटको दृश्य मन्त्रमुग्ध पार्ने खालको छ । भैरवस्थान, तानसेनबाट केहि किमि पश्चिमतिरको डाँडामा भैरवको उग्र र भयानक मूर्तिसहितको मन्दिर छ । एशियाकै विशाल मानिने त्रिशुल यहाँ उभ्याइएको छ । रिडि अर्थात रुरु क्षेत्र । पाल्पा, गुल्मी र स्याङ्गजाको सङ्गम स्थलमा रहेको रिडी धार्मिक दृष्टिले निकै चर्चित तीर्थस्थल हो । रिडी क्षेत्र तानसेनदेखि उत्तरमा पर्दछ । भगवान् ऋषिकेशको मन्दिर यहाँको मुख्य दर्श्निय वस्तु हो । यहाँ हरिशयनी एकादशी, हरिबोधनी एकादशी र माघे सँक्रान्तिमा ठूलो मेला लाग्दछ ।
रानीघाटको रानीमहल, शान्त, एकान्त, प्रायः निर्जन, हरियो पहाडको फेदमा, काली गण्डकीको किनारमा चट्टानमाथि खडा भएर एक शताब्दी गुजारी सकेको छ रानीमहलले । यसलाई नेपालको ताज महल भनेर पनि यसको प्रशंसा गरिएको छ । तत्कालिन प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा ५ वर्ष लगाएर वि.सं. १९५४ मा यो रानीमहल निर्माण गरेका हुन् । यो सुन्दर महलमा पाश्चात्य वास्तुकलाको प्रयोग गरिएको छ ।
गुल्मी र अर्घाखाँची चक्रपथ
तानसेनबाट रिडी हुँदै गुल्मी जिल्लाको तम्घास जान सकिन्छ र रमाईलो रेसुङ्गाको लेकाली दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक हिसाबले पनि अत्यन्तै महत्वपूर्ण रेसुङ्गा मन्दिर र त्यहाँको पोखरी आकषर्क दर्शनीय स्थलमध्ये पर्दछन् । त्यसपछि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वा चुत्रावेसी भ्रमण र बाटामा नरपानीको लेकबाट मनोरम दृशय अवलोकन गर्न सकिन्छ । बाटोमा ठाडा दह र सुपा देउरालीको मन्दिर एवं त्यो क्षेत्रको अनौठो दृश्यले हरेक पर्यटकका मनमा अवश्य पनि अमिट छाप बसाल्ने छ ।
बटौली : बिश्रामस्थल
जुन बाटो गएपनि बटौली भन्ने उखानै छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर जान र आउनका लागि यहाँबाट चौविसै घण्टा यातायातको सुविधा छ । बुटवल आफै एक ऐतिहासिक, धार्मिक र प्राकृतिक दृष्टिले विशेष रमणीय थलो हो । पुरातात्विक, धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण र सुन्दर सेरोफेरोको केन्द्रमा रहनु यसको झन् ठूलो विशेषता हो । लुम्बिनी अन्चलका ६ वटै जिल्ला सदरमुकाम र त्यहाँका महत्वपुर्ण पर्यटकिय स्थललाई समेटेर पर्यटकिय मार्ग निर्माण गर्नु अति आवश्यक छ । जसको केन्द्रबिन्दु अर्थात बिश्रामस्थलका रुपमा बुटवल हुन सक्छ ।
यसप्रकारका प्रसस्त सम्भावना र प्रचुर भावना हुँदाहुँदै पनि पर्यटकिय बिकासको क्षेत्रमा भने यसले फड्को मार्न सकेको छैन । राजनैतिक सामाजिक, धार्मिक साँस्कृतिक, ऐतिहासिक पुरातात्विक, औद्योगिक ब्यापारिक आदि सबै कुरामा अगाडी भएर पनि यो शहरले पर्यटन क्षेत्रको बिकासको लागि कुनै महत्वपुर्ण गतिबिधि संचालन गर्न सकेको छैन । सबै कुरामा अगाडी भएर पनि बुटवल पर्यटन प्रबद्र्धनमा पछाडी परेको छ । यसका लागि बुटवलबासी सब एकजुट र गम्भिर भएर सोच्न जरुरी छ । अब हामी सबैले आ—आफ्नो क्षेत्रबाट सक्दो योगदान पुराउने बेला आएको छ ।
पछिल्लो समय पर्यटन प्रबद्र्धनमा भएका सकारात्मक प्रयासहरु
१.जीतगढी किल्ला
जितगढी किल्लाको डिपिआर निर्माण गर्ने, अव्यवस्थित संरचनाहरु हटाउने, उजिरसिंहको पूर्णकदको शालिक स्थापना, अग्लो टावर बनाई राष्ट्रिय झण्डा राख्ने, १३ जना शहिदहरुको शालिक स्थापना, कलात्मक गेट, ओपन थिएटर, लकटायल ट्रयाक, फुलबारी र लाइटिङ्ग लगायत निर्माणको काम सम्पन्न भएका छन् भने गुरुयोजना अनुसारका अन्य निर्माण कार्यहरु समेत शुरु भएका छन् ।
२. युद्ध संग्राहलय
बुटवल उपमहानगरको महत्वपुर्ण योजना जीतगढी (बटौली) युद्ध संग्रहालयको काम ८० प्रतिशत सम्पन्न भएको छ भने पुरानो बुटवललाई प्राचिन सम्पदा बस्तीको रुपमा विकास गर्न गुरुयोजना निर्माण गर्ने तथा त्यस अनुरुप सडकहरुमा लकटायल लगाउने, भवन निर्माणको डिजाइन तथा मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने काम तिब्र रुपमा भईरहेको छ । केहि समयमा चार शताब्दी अघिको बटौलीलाई बर्तमान अवस्थामा पनि अवलोकन गर्न पाईने भएको छ ।
३. थारु संग्राहलय
रुपन्देहीको मोतिपुरमा थारु संग्रहालय तथा थारु सांस्कृतिक ग्राम निर्माणका लागि डिपिआर, कम्पाउण्ड वाल, पहुँच सडक, कल्र्भट, खानेपानी तथा विद्युत, सेड लगायतका पूर्वाधार निर्माण गर्दै थारु सांस्कृतिक पहिचान सहितको पिकनिक स्थल निर्माण भएको छ । हरेक बर्ष बजेट बिनियोजनको काम पनि भैरहेको छ तर पर्याप्त बजेट बिनियोजन हुन नसक्दा कामले तिब्रता पाउन सकेको छैन ।
४. बैठौलिया ताल
सेमलारस्थित बैठौलिया कपरकट्टी तालको डिपिआर निर्माण गरी ताललाई ३ विगाहाबाट २५ विगाहामा विस्तार गरिएको छ भने तालका केही स्थानमा पर्खाल निर्माण, ताल क्षेत्रमा लाइटिङ्ग, लकटायल सहितको फुटपाथ तथा साइकल लेन, शौचालय, विश्राम स्थल, ब्रिज, सेल्फी जोन, चमेना गृह लगायतका पूर्वाधारहरु निर्माण गर्ने काम भएको छ । आन्तरिक पर्यटकहरुको गन्तब्यस्थलका रुपमा बिकास भैरहेको सो तालमा स्टिमर समेत सञ्चालनमा ल्याईएको छ ।
५.नरेनापुर धाम
धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको नरेनापुरधाम क्षेत्रमा कम्पाउण्ड वाल, लकटायल सहितका आन्तरिक बाटाहरु, बृहत सभाहल, लाइटिङ्ग सहितको सुन्दर पार्क निर्मार्ण, टावर निर्माण तथा मन्दिरका संरचनाहरुको जिर्णोद्धार, मर्मत संभार तथा रंगरोगन गर्ने काम भएको छ । साथै करिब १० विगाहा क्षेत्रफलमा प्राकृतिक सुन्दरता सहितको नयाँ गन्तव्य नरेनापुर पिकनिक स्पट निर्माण गरिएको छ ।
६. मिलनपार्क
बुटवल १२ ढवाहामा निर्माण गरिएको मिलनपार्कमा कम्पाउण्ड वाल, फुलबारी तथा सेड, पहुच मार्ग, बहुउद्देश्य सभाहल निर्माण गर्ने काम भएको छ भने ट्रि रेष्टुरेण्ट सहितको रिसोर्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माणको प्रक्रिया शुरु भएको छ । पिकनिक आदीका लागि यो स्थान निकै उपयोगी रहेको स्थानियहरु बताउछन् ।
७. हिलपार्क
हिलपार्कलाई विशाल बुद्धमूर्ति सहित बुद्धपार्कको रुपमा विकास गर्न सर्भे, माटो जाँच, डिपिआर र ईआईएको काम सम्पन्न गर्दै जग्गा प्राप्तिको प्रक्रिया शुरु भएको छ । यहाँ ढुंगामा कुँदेर बनाईएका प्रस्तर कला मुर्तिहरु प्रसस्त देख्न सकिन्छ । बिहान साँझ घुम्न जानेहरुको निकै भिडभाड हुने हिलपार्कमा साँस्कृतिक कार्यक्रम स्थल, बाल उद्यान, भ्यूटावर, ब्यायामस्थल लगाएत संरचना तयार भैसकेका छन भने कतिपय निर्माणाधिन छन् ।
८. अन्य पार्क
बुटवल ३ को चिडियाखोला, सिद्धवावा र पाल्पा दोभानको तिनाउ नदि क्षेत्रलाई समेटेर दिर्घकालिन गुरुयोजना बनाई रामपिथेकस पार्कको निर्माण गर्ने कार्यको पनि थालनी गरिएको छ । साथै लक्ष्मी पार्क, तिनाउ पार्क, जेबी पार्क, विभूति पार्क, भैरव पार्क, पाणिनी पार्क, हरियाली पार्क लगायका पार्कहरु निर्माण तथा तिनिहरुको स्तरोन्नती गर्ने काम पनि धमाधम भैरहेको छ ।
९. केबुलकार र अन्तराष्ट्रिय सम्मेलन केन्द्र
बुटवलमा संचालन भएका दुईवटा केबुलकार तथा संघिय सरकारको लगानीमा निर्माण भएको अत्याधुनिक सुबिधा सम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्र महत्वपुर्ण सम्पदाहरु हुन् । निजि क्षेत्रको अरवौं रुपैयाँको लगानीमा बनेका केबुलकारहरु र सरकारी लगानीको सम्मेलन केन्द्र पनि बुटवलको बिकासका प्रमुख मानकहरु हुन् । गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म लुम्बिनी केबुलकार संचालनमा आईसकेको छ भने पुरानो बटौली बजार तर्फबाट पाल्पाको नुवाकोटसम्म पनि सिद्धार्थ केबुलकार प्रा.लि.ले संचालन गरेको छ । उता अरवौं रकमको लगानीमा निर्मित अन्तराष्ट्रिय सम्मेलन केन्द्र संचालनमा आईसकेको छ तर कार्यबिधि नबन्दा संचालनमा केही कठिनाईहरु भने यथावतै छन भनिन्छ ।
अन्तमा
आर्थिक, राजनैतिक, सामाजिक लगाएत अरु सबै कुरामा अगाडी भए पनि बुटवल पर्यटन प्रबद्र्धनको क्षेत्रमा भने पछाडी परेको छ । यसका लागि बुटवलबासी एकजुट भै बिशेष खालका कार्यक्रमहरु संचालन गर्नका लागि एकपटक गम्भिर भएर सोच्न जरुरी छ । अब हामी सबैले आ—आफ्नो क्षेत्रबाट सक्दो योगदान पुराउने बेला आएको छ ।
पछिल्लो समय यसक्षेत्रमा निर्माण भैरहेका स्तरिय होटेल तथा रेष्टुरेन्टहरुले पनि पर्यटन प्रबद्र्धनमा टेवा पुराउने लक्ष लिएका छन् । पर्यटन र यसक्षेत्रको आर्थिक बिकासमा समेत टेवा पुराउने अपेक्षा गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्टिय बिमानस्थललाई पुर्ण क्षमतामा संचालन गर्न आवश्यक छ ।
रात्रीकालिन ब्यापार ब्यबसाय संचालन र सिद्धवावा सुरुङ्ग मार्ग पनि पर्यटन बिकासका आधारहरु हुन । पछिल्लो समय पर्यटन प्रबद्र्धनका थुप्रै प्रयास भएका छन् । तर ति प्रयासहरुलाई साकार रुप दिन आम बुटवलबासी एकजुट भएर लाग्नु पर्ने आवश्यक्ता छ । आउनुहोस हामी सबै मिलेर बुटवललाई एक पर्यटकिय बिश्राम स्थलका रुपमा बिकास गरौँ, पर्यटन प्रबद्र्धनका लागि तन मन धनले सेवा र सहयोग गरौँ, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन र पर्यटकिय सेवाको उर्बर भुमि बनाऔँ । (सञ्चारिका फिचर)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)