बुटवल,साउन ६ ।
बुटवलस्थित बीपी चोकमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ ।
४४ औँ बीपी स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले आधुनिक नेपालको परिकल्पना गर्ने नेता बीपी कोइरालाले नेपालमा राष्ट्रिय मेलमिलापको नीतिलाई स्थापित गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले बीपीको विचार, आदर्श र राजनीतिक दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश साम्सद जमुना ढकाल, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँड,बुटवल नगर सभापती खेलराज पाण्डेय, नगर सचिव छाया पोखरेललगायतका नेताहरूले बीपी कोइरालाको विचार, लोकतन्त्रप्रतिको प्रतिबद्धता र राष्ट्र निर्माणमा उनले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)