बुटवल,असार २८-
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्चको परमादेशको स्वागत गर्दै बुटवलमा विपक्षी गठबन्धनका नेता-कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन् ।
बुटवलको ट्राफिकचोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले ( माधव नेपाल पक्ष), जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नताहरुले सर्वोच्चको फैसलालाई स्वागत गरे ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य कुल प्रसाद केसीले प्रतिगमनको टाउको फोरिएपनि अझै ढाड भाच्न बाँकी रहेको बताए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले संविधान र प्रजातन्त्र सर्बोच्चले बँचाएको जिकिर गरे ।जसपा लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले केपी ओलीको प्रतिगमन सर्वोच्चबाट परास्त भएको भन्दै अब केही हदसम्म संविधानको रक्षा भएको बताए ।
राजमाे रुपन्देही जिल्ला सचिव टानबहादुर केसीले ओलीको प्रतिगमन सकिएको भएपनि अझै चुनौति रहेकोले सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेताहरु युवराज गिरी,खेलराज पाण्डेय,माओवादी केन्द्रका युवा नेता नारायण जिसी निर्मल लगायतले बाेलेका थिए ।
सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)