बुटवल असार २८-
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।
लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताएका छन् ।
पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुलाई कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’
उनको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन् । नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)