बुटवल,जेठ २४-
निशेधाज्ञाको अवधिमा रूपन्देहीको तिनाउ नदीमा गिट्टी, बालुवा र ढुंगाको अनियन्त्रित उत्खनन बढेको छ । दर्जनौं ठूला मेसिन प्रयोग गरेर दिनहुँ नदीजन्य पदार्थ दोहन हुँदा पनि स्थानीय निकाय,प्रहरी प्रशासन मौन छ ।
तिलोत्तमा नगरपालिका ४ को मगरघाटक्षेत्र , बुटवल उपमहानगरपालिका १६ र १७ स्थित माेतिपुर,हरिहरपुर क्षेत्र, रंगशालानजिक त्यस्तैगरी बुटवल ११ प्रगतिनगर,बुद्धनगर क्षेत्रमा बिगत ४-५ दिनयता दैनिक १५-२० डाेजर,एक्साभेटरले ढुंगा, गिटी र बालुवा निकाल्ने गरेको देखिन्छ।
ती उपकरणले निकालेको सामग्री दैनिक ५०-६० भन्दा बढी ट्रिपरले डेकेडारका डम्पिङ स्थलमा लैजाने गरेका छन् भने कतिपय स्थानीय क्रसर उद्योग पुर्याएर डम्पिङ हुने गरेको छ । उत्खननका लागि स्वीकृति दिने जिल्ला समन्वय समितिले भने जिल्लाभित्रका आयोजनाका नाममा स्वीकृति दिइएको दाबि गर्ने गरेको छ ।
तिनाउ दानव अनियन्त्रित रूपले उत्खनन हुँदा स्थानीय त्रासमा बस्न बाध्य छन् । बर्खाको सिजन शुरु हुनै लाग्दा नदी कोपरेर सक्दा छेउछाउको बस्ती नै जाेखिममा पर्ने गरेको छ ।
उत्खनन क्षेत्रमा प्रशासनको शुन्य उपस्थिति छ । कस्ले किन र के का लागि नदी दाेहन गरिरहेको छ कसैबाट सहि र ठाेस जवाफ पाउन सकिदैन ।
गिट्टी, बालुवा र ढुंगाको अनियन्त्रित उत्खननले वातावरण सन्तुलनमा असर पारिरहेको छ भने नदीको सभ्यता र बहावक्षेत्र समेत बदलिएको छ । दाेहन तीब्र हुदाँ पनि यहाँका जनप्रतिनिधी तथा स्थानीयहरुले पनि खुलेर बाेल्न मान्दैनन् ।
बुटवल ११ का युवा लक्ष्मण मल्ल ठकुरीले नागरिक अनलाइनसंग भने-‘यहाँ त दैनिक यस्तै छ ,बिहानैदेखि सयाैँ टिप्पर आउँछन्,डाेजरले खन्दै टिप्परले लैजान्छन् ,हामी त नजिक जान पनि पाउँदैनाैँ,टाढैबाट हेरेर रमिते बन्नुपर्दा दु:ख लाग्छ ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोना महामारीका कारण सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा लगाउनुपर्दा नर्मल टाइममा जस्तो अनुगमन हुन नसके पनि कतैबाट उजुरी आए अवैध उत्खनन् र चोरी निकासी नियन्त्रण गरिने बताउछन् ।
‘जथाभावी खनिएको र बेथिति भएको भए स्थानीय सरकारले हेर्छ,अनुगमनको काम जिसस हो,’ तामाङले भने ।बुटवलमा क्रियाशील विपक्षी ८ दलले तिनाउ दावन नदीको उत्खनन् राेक्न भन्दै लुम्बिनी प्रदेश सरकारसमक्ष ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
हेराैँ फाेटाेफिचर :



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)