बुटवल,जेठ २३ ।
रूपन्देहीको बुटवलमा क्रियाशील ८ पार्टीका नेताहरुले सरकारले गरिरहेकोगतिबिधि गलत भएको निश्कर्ष निकालेका छन् । सत्ताधारी दलले कानुन नमान्ने र बिधिको उल्लंघन गर्दै मनपरितन्त्र चलाएकोमा उनीहरुको आपत्ती छ । उनीहरुले आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै सरकारसंग चारबुदेँ ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले भनेका छन् सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिब्यत्ती आपत्तीजनक रहेकाले सरकारबाट तुरुन्त निस्कासन गर्नुपर्ने,बुटवलको तिनाउ दोहन रोक्नुपर्ने ,कोरोना महामारीबाट सुरक्षित हुनको लागि खोप भरपर्दो उपाय हुने भएकाले तत्काल खोप उपलब्ध गराउन र चरम संकटको बेला बजारमा भएको महंगी, कालो बजारी नियन्त्रण गर्न जोडदार माग गरेका हुन् ।
हेराैँ बिज्ञप्ती :
बुटवलमा क्रियाशील प्रतिपक्षमा रहेका राजनैतिक दलहरुको संयुक्त
प्रेस विज्ञप्ती
मितिः २०७८-०२-२३
कोरानाको महामारीका कारण अहिलेको जनजीवन चिन्ताग्रस्त छ । सबैतिर स्वास्थ्य तथा मानवीय संकट उत्पन्न भएको छ । कैयन व्यक्तिले आफ्नो जीवन गुमाउनु परेको छ भने कैयन् उपचारमा हुनुहुन्छ । यस्तो कहाली लाग्दो र विषम परिस्थितिमा लकडाउनका कारण शिक्षा, यातायात, उद्योग, व्यावसाय, कृषि लगायत सबैक्षेत्र अस्तव्यस्त छ । श्रम गरी खाने मजदुर वर्गलाई आफ्नो दैनिकी निर्वाह गर्न समस्या परिरहेको छ ।
यो संकटको घडिमा वर्तमान सरकार कहीँकतै, कुनै कुरामा पनि जिम्मेवार भएको देखिदैन । समय–समयमा मन्त्रीमण्डल परिवर्तन गरिरहने र उनीहरुका गैर जिम्मेवार भनाईहरुले मुुलुकमा थप अन्यौलता उत्पन्न हुने गरेको छ । कोरानाका कारण एकातिर सिकिस्त विरामीका लागि अस्पतालमा वेड, अक्सीजन, आइसियू, भेन्टीलेटर, औषधी इत्यादिको अभाव छ भने अर्को तिर खोपको व्यवस्था नहुँदा सरकार भएको आभाष हुन सकेको छैन ।
तसर्थ
१- भर्खरै नियूक्त केपी ओली सरकारका उप–प्रधानमन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएर देशलाई विखण्डन गराउने विषय उठाएका छन् । हिजो सिंहदरवारमा बसेर चर्को कुरा गर्नेहरु र सिमा–नाकामा बसेर आन्दोलन गरी मुलुकलाई अप्ठेरो पार्नेहरु बीच गहिरो सम्बन्ध र तालमेल देखिएको छ । तसर्थ प्रधानमन्त्रीमा नैतिकता छ भने तत्काल यस्तो अभिव्यक्ति दिनेलाई सरकारबाट हटाउन जोडदार माग गर्दछौं ।
२- कोरोना महामारीबाट सुरक्षित हुनको लागि खोप भरपर्दो उपाय हुन सक्दछ । तर खोप उपलब्ध गराउन भएको ढिलाई तथा अनियमितता प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । नागरीकहरुको स्वास्थ्यमा भएको खेलवाडलाई अविलम्ब बन्द गरी छिटो भन्दा छिटो आम नागरीकलाई सहज रुपमा खोप सुविधा उपलब्ध गराउन माग गर्दछौं । यस्तो चरम संकटको बेला भएको महंगी, कालो बजारी नियन्त्रण गर्न जोडदार माग गर्दछौं ।
३- बुटवल उप–महानगरपालिका भित्र तिनाउ र दानव नदिमा नदिजन्य पदार्थः ढुङ्गा, गिट्टी, वालुवाको व्यापक दोहन भएको छ । यस महामारीलाई अवसरको रुपमा उपयोग गरी नदिजन्य पदार्थ दोहन गरिनु लज्जाको विषय हो । जनतालाई परेको पीर–मर्काको विषयलाई समाधान गर्नुको साटो मौका हेरेर तिनाउ र दानव नदि दोहनमा लाग्नु दुःखको विषय हो । तसर्थ यस्तो काम तत्काल बन्द गर्न बुटवल उप–महानगरपालिकासँग माग गर्दछौं ।
४- कोरोनाका कारण दिवाङ्गत हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उपचारमा रहनुभएका सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)