बुटवल,माघ १८ ।
रूपन्देहीमा रहेको टाइगर प्यालेसले सरकारलाइ पुरानो बक्यौता रकम बुझाएको छ। सरकारलाई सम्पूर्ण राजस्व बापतको ५४ करोड बुझाएर टाइगर प्यालेसले नवीकरण गरेको हो। टाइगर्स प्यालेसका अध्यक्ष बुद्धि सागर सुबेदीले बुधबार बक्यौता रकम तिरेको बताए।
कोटिहवास्थित टाइगर प्यालेस सञ्चालनमा आएसँगै पर्यटनमा नयाँ आयाम ल्याउनेको उनको विश्वास छ। उनले होटल सञ्चालमा आएपछि पाँच सय मजदुरले रोजगारी पाउने दाबी गरे।
‘यसले मुलुककै पर्यटनमा नयाँ आयाम ल्याउने विश्वास छ,अब सबै समस्या समाधान गरेर प्यालेस लयमा फर्किएको छ। हामी उत्साहित छौं,’ सुवेदीले नागरिक अनलाइनसंग भने।
होटलमा क्यासिनो समेत सञ्चालनमा आउने भएको छ। सञ्चालनमा आएको केही समयपछि नै क्यासिनो सञ्चालनमा ल्याउने बताइएको छ। त्यस्तै रिसोर्टमा मजदुरको विवाद पनि समाधान भएको छ।
मजदुरलाई पुनः रोजगारीमा फिर्ता हुने वा गोल्डेन ह्यान्ड चेकको वकल्पमा सहमति गरेपछि मजदुरले मुद्दा फिर्ता लिएका थिए। २६४ जना मजदुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। रिसोर्ट १५ बिघामा फैलिएको छ भने एक सय दुई कोठा छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)