बुटवल,भदौ १ ।
रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेका नयाँ लगानीकर्ताले सरकारलाई सम्पूर्ण कर तिर्ने घोषणा गरेका छन् । गैरआवासीय समूहको टीमले रिसोर्टमै पत्रकार सम्मेलमार्फत सबै प्रकारका कर तिर्ने अध्यक्ष बुद्धि सागर सुबेदीले बताउनुभयो ।
पाँचतारे रिसोर्ट नयाँ ब्यवस्थापनको जिम्मेवारी सम्हालेका सुवेदीले कर तिर्ने प्रष्ट पार्नुभयो ।
‘हामी नेपालमा नाफा कमाउन आएका होइनौं, देशप्रतिको दायित्व पूरा गर्न आएका हौं’ सुवेदीले भन्नुभयोे, –‘राज्यलाई तिर्नुपर्ने सबै कर तिर्छौं,एक रुपियाँ पनि बाँकी राख्दैनौँ ।’
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले करिब ५ अर्ब रुपैयाँको लगानीमा टाइगर प्यालेस सञ्चालन गर्दै आएको थियो । लामो समयदेखि टाइगर प्यालेस बिक्री गर्न खोजिएको थियो तर धेरै प्रयास असफल भएका थिए ।
बैंकको दायित्व मात्रै साढे २ अर्ब रुपैयाँको हाराहारीमा रहेको अर्का संचालक दीपक दत्त गौतमले बताउनुभयो ।
वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने देखेपछि विदेशमा बस्ने नेपाली मिलेर सिल्भर हेरिटेजसँग टाइगर प्यालेस किनेको उहाँको भनाइ छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित उक्त रिसोर्ट तथा क्यासिनोले १ हजार भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको थियो भने सरकारलाई करोडौं रुपैयाँ राजस्व तिर्दै आएको थियो ।
‘सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनीमार्फत नेपालमा लगानी गरेको र हामी केही गैर आवासीय नेपालीले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अस्ट्रेलियन कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेसको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको हो ।
नयाँ व्यवस्थापन सहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको कुरा यहाँहरु माझ जानकारी गराउन पाउँदा गौरवान्वित छौं,’ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन सेवा उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागि सुखद् नभएको सुवेदीको भनाइ छ ।
कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन । यो रिसोर्टले करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । करिब १५ बिगाहा क्षेत्रफल रहेको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो । कम्पनीले नेपालका बैंकलाई तिर्नुपर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।
नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योग महत्वपूर्ण भएकाले गैर आवासीय नेपालीहरुले रिसोर्टमार्फत पर्यटन क्षेत्रमा इट्टा थप्न चाहेको उहाँको भनाइ छ ।
स्वदेशमा रोजगारी सृजना गर्न विदेशबाट पर्यटक ल्याएर मुलुकको आर्थिक विकासमा योगदान गर्न विभिन्न समस्याहरु झेल्दै धरासायी अवस्थामा रहेको टाइगर प्यालेसमा आफूहरुले लगानी गरेको सुवेदीले बताउनुभयो ।
यहाँको सबै लगानी नोक्सानीमा गएको, टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको, बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा सिल्भर हेरिटेजमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको गरिएको उहाँको भनाइ छ ।
तर, रिसोर्टमा भएको बैंकको ऋणको दायित्व लगायतका अन्य व्यवसायिक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रुपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नको लागि ठूलो रकम थप लगानी गर्नुपर्ने देखिएको उहाको भनाइ छ ।
‘हामीले गरेको प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिब ४ अर्ब नेपाली रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ’ उहाले भन्नुभयो ।
यो परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्न विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्ने उनको विश्वास छ । टाइगर प्यालेस रिसोर्ट पूर्णरुपमा संचालन हुँदा करिब एक हजार भन्दा बढी प्रत्यक्ष रोजगारी, राजस्व, व्यापार,व्यवसाय वृद्धि हुनुका साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
अमेरीकामा रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इन्कमा व्याबसायीक र पेशागत रुपमा स्थापित बुद्धीसागर सुबेदी, दिपक गौतम, कुल आचार्य, देब भुषाल, रामजी मरासिनी लगायतको लगानी रहेको छ ।अब टाइगर प्यालेस रिसोर्ट दुई महिनामा (कात्तिकदेखि) पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)