बुटवल,असाेज ५ ।
डेढ करोड रकम हिनामिनाको आरोपमा माछापुच्छ्रे बैंकका एजेण्ट निरन्जन पाठक रूपन्देहीबाट पक्राउ परेका छन् । बैंकको रकम हिनामिना गरेको आरोपमा रुपन्देही प्रहरीले रोईनिहवाका निरन्जन पाठकलाई पक्राउ गरेको हाे ।
रुपन्देहीको पनि दुर्गम क्षेत्रको रुपमा रहेको मर्चवारमा राष्ट्रबैंकको निति अनुसार माछापुच्छ्रे बैंकले शाखा रहित बैंकिङ्ग कारोबारको लागि कार्यालय खोलेको थियो । पाठकले एजेन्ट भई बैंक संग सम्झौता गरेर उक्त बैंक सञ्चालन गरेका थिए ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । “माछापुच्छ्रे बैंकले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागि पाठकलाई पक्राउ गरिएको हो ।” विश्वकर्माले भने “थप अनुसन्धानको लागि म्याद थप गराउने प्रक्रियामा रहेका छौं ।”
पाठक माथि डेढ करोड बढी रकम हिनामिना गरेको आरोप रहेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा शाखा रहित बैंकिङ्ग सुविधा प्र्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले सयौं निक्षेप कर्ताको रकम हिनामिना गरेको आरोप छ । रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरेको पाईएको छ ।
कारोबार ब्यवस्थापनको लागि भन्दै सोही गाउँकै सिकन्दर ठाकुरलाई ब्यवस्थापक पनि बनाईएको थियो ।सो शाखारहित बैंकमा रकम जम्मा गर्ने सेवाग्राहीले रकम झिक्न जादा रकम नै नभएको थाहा पाए पछि घटना बाहिर आएको थियो । घटना एक बर्ष अघि बाहिर आए पनि सो बैंकका एजेण्ट पाठकलाई अहिले आएर मात्र बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)