बुटवल,भदौ २१।
भैरहवामा पाँच करोड रुपैयाँको लगानीमा ‘साँवरिया’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित आवारोडमा ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’ अन्तर्गत ‘साँवरिया’ ब्राण्ड सञ्चालनमा आएको बिहीबार सञ्चालकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
‘साँवरिया’ भदौ २४ गते आइतबार उद्घाटन गरिने सञ्चालक अरुण कुमार अग्रवालले बताए । ‘साँवरिया’ एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.को पहिलो व्यवसायिक प्रतिष्ठान भएको उनले बताए ।
भारत लगायत विभिन्न मुलुकबाट बुद्ध जन्मस्थलसँगै लुम्बिनी प्रदेशका विभिन्न आध्यात्मिक धाम घुम्त आउने पर्यटक लक्षित गरेर शुद्ध साकाहारी र जैन परिकार उपलब्ध गराउन ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’ अन्तर्गत ‘साँवरिया’ ब्राण्ड प्रस्तुत गरिएको अग्रवालले बताए ।
अग्रवालका अनुसार आकर्षक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको यो व्यवसायिक प्रतिष्ठानमा विभिन्न प्रकारका उच्च गुणस्तरका मिठाई, प्रभातकालीन नास्ता, दिउँसोको खाजा उपलब्ध रहेका छन् ।
‘साँवरिया’ अरुण अग्रवालसहित कृष्णप्रसाद शर्मा (सानु), ज्ञानेन्द्र कार्की, गौरव दारुका र आदर्श अग्रवालको व्यवसायिक साझेदारी रहेको छ ।पूर्ण वातानुकूलित साँवरियामा एकैपटक १३० जनालाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अग्रवालले बताए ।
‘साँवरिया’ले आगामी दिनमा पारिवारिक र संघ–संस्थाले आयोजना गर्ने भोजमा क्याटरिङ सुविधा उपलब्ध गराउने उनले बताए । यहाँ उपलब्ध सम्पूर्ण मिठाईका परिकारको ‘होम डेलिभरी’ सुविधा थप गरिने समेत अग्रवालले जानकारी दिए ।
नाफामुलक भन्दा सेवा भावनाले यसको सुरुवात गरिएकाले आगामी दिनमा सामाजिक सुरक्षा दायित्वमार्फत मुनाफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)