Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बालाजी सिमेन्ट इण्डष्ट्रिजद्वारा आफ्ना उत्पादन भारत निर्यात सुरु

बालाजी सिमेन्ट इण्डष्ट्रिजद्वारा आफ्ना उत्पादन भारत निर्यात सुरु

  • 1.0K
    SHARES

  • बालाजी सिमेन्ट इण्डष्ट्रिजद्वारा आफ्ना उत्पादन भारत निर्यात सुरु

    बुटवल,जेठ ३०।

    बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. शिवराज नगरपालिका–६, धर्मनगर, कपिलवस्तुले आफ्ना उत्पादन भारत निर्यात सुरु गरेको छ । इण्डष्ट्रिजबाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेसँगै भारत निर्यात सुरु गरिएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए ।पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरिएको अग्रवालले बताए ।

    कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो । भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड्स (बिआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तरसम्बन्धी इण्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बाहुबली र श्रृष्टीकोको भारततर्फ निर्यात अघि बढेको हो । कपिलवस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात पहिलोपटक भएको उनको भनाइ थियो । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए ।

    भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात सुरु गरेको हो । सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यसअघि नै गरिसकेको छ । सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको उद्योगका संस्थापक सन्दिप काडियाको भनाइ छ । 

    शिवराज नगरपालिकामा रहेको उद्योगले निर्यात सुरु गरे सँगै ब्यपार घाटामा थोरै भए पनि कमी आउने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले बताए । शिवराज नगरपालिकाका प्रमुख अजय थापाले शिवराज नगरपालिकाबाट निर्यातको सुरुवात हुनु गर्वको विषय रहेको बताए । आयात मात्रै हुने गरेको नेपालमा यसले केही सकारात्मक सन्देश दिने उनको भनाइ छ ।

    बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको उद्योगका प्रबन्ध निर्देशक रौनक अग्रवालले जानकारी दिए । उद्योगले बाहुबली र श्रृष्टी ब्रान्डका ओपिसी ४३ ग्रेडको र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुबै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेको छ ।बालाजी सिमेन्ट ईण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो ।

    उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रविधि जडान छ । जर्मनको यो प्रविधि सिमेन्ट उद्योगको लागी विश्वकै उच्चस्तरीय कम्पनी हो । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदुरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology