बुटवल,जेठ ६ ।
पाल्पा देउगीकी ३४ वर्षिया मिना सारुको दैनिकी आजभोली अलि भिन्न छ । झिस्मिसे नहुँदै विहान ४ बजे उठेर घरको काम सक्नुपर्ने त छदैछ ,तर सिजनको ब्यापारका लागि बुटवल धाउनुपर्ने अर्काे काम पनि अहिले थपिएको छ । ५ जनाको परिवारलाई हात मुख जोर्ने जिम्मा उहाँको छ ।
‘४ बजे उठेपछि घरको काम बिहान ६ बजेसम्म सक्छु र झिसमिसेमै डोको बोकेर जंगल जान्छौँ,म मात्रै होइन छिमेकीहरु पनि । ’उहाँले भन्नुभयो– ‘ डोकोमा काफल बटुलेपछि बोकेर यहाँ आउछौँ छिनभरमै बिक्री हुन्छ । ’काफल टिपेर बुटवल बजारसम्म ल्याएर विक्री गरी बेलुका आफ्नै घर फर्किनु उहाँको दैनिकी बनेको छ ।
जेठको चर्को गर्मिका बाबजुत असिनपसिन हुदै काफल बेच्दै गर्दा उहाँ बुटवल ९ कालिकानगर, टिचर पथमा भेटिनुभयो । उहाँ भन्नुहुन्छ –कमाउने अरु कुनै आधार छैन, दिनदिनै काफल टिपेर बेच्नका लागी आउने गर्छु ।’बुटवलमा चैत्र महिनादेखि जेठको अन्तिम सातासम्म काफलको राम्रो व्यापार हुने गरेको छ ।
सारुले काफल बेचेर कमाएको पैसाबाट आफ्ना ३ वटा सन्तान र श्रीमानलाई पनि पाल्दै आएको बताउनुभयो । उहाँका अनुसार श्रीमान्ले गांउघरमा हलो जोत्ने काम गर्नुहुन्छ ।देउगीको काफल डोकोमा बोकेर करीब दुई घण्टा पैदल हिडेपछी बल्ल बुटवल जाने मूल सडक सिद्धार्थ राजमार्गमा पुगेर बस चढ्ने गरेको सारुको भनाइ छ ।
उहाँले अहिले काफलको सिजनमा दैनिक करिब ४ हजार रुपैया आम्दानी गर्ने गरेको र १ महिनामा करिब १ लाख ३० हजार रुपैया काफल बेचेरै कमाएको बताउनुभयो ।सारु काफल बेचेर घरबार चलाउने एक प्रतिनिधी पात्र मात्रै हुनुहुन्छ ।उहाँ जस्तै काफल बेचेर घर (जिविका ) चलाउने महिलाहरुको सङ्ख्या बाक्लो छ । मिनाकै गाउकी हिरा सारुको कथा—व्यथा पनि उस्तै छ ।
मिना र हिरा संगसंगै घरको काम सकेर काफल टिप्न जंगलमा पुग्छन् र जंगलमा ठुला–ठुला रुख भएकाले काफल टिप्न उहाँहरुलाई निकै समस्या छ । ‘रुख चड्न गाह्राे छ, कुनै कुनैमा चढ्न सकिदैन, तर सधै यहि काम गर्नुपरेपछि जसरी पनि काफल टिप्छौ ।’ हिरा सारुले भन्नुभयो ।
उहाँका श्रीमान् शेर बहादुर सारुले गाउमै खेतिकिसानी गर्नुहुन्छ । उहाँले आफ्नी श्रीमतीलाई काफल टिप्ने काममा सघाउदै आउनुभएको छ । काफल बेचेर आएको आम्दानीले छोराछोरीलाइ पढाउने र घर खर्च पनि चल्ने गरेको छ ।
पाल्पाको जंगलबाट काफल टिपेर बुटवल बजारमा बेच्दा उहाहरुले मानाको १६० देखि २ सय २० रुपैँया सम्ममा बिक्री गर्ने हुने गरेको छ । हिराले काफल बेचेर आफ्नो ५ जनाको परिवार पाल्दै आउनुभएको छ ।
मासिक १ लाख २० हजार कमाउने सारुले ३ महिना अर्थात् जेठभरको पनि आम्दानी जोडेर करिब साढे ३ लाख आम्दानी गर्ने अनुमान गर्नुभएको छ ।चैत्र देखी जेठ सम्म यसरी काफल बेच्ने सिजन भएकाले पाल्पाका विभिन्न क्षेत्रबाट काफल बेच्न बुटवल आउनेको सङ्ख्या धेरै छ । गाउँमा काफलको मुल्य कम भएपछि धरै आम्दानी गर्ने उद्धेश्यले उहाँहरु बुटवल आउने गरेको बताउनुहुन्छ ।
उहाँहरु हरेक बर्ष यो अवधिमा काफल बेच्ने गरेको र अरु समयमा भन गाउँमा अचोपैचो खेती किसानीमा रमाइरहनुभएको छ ।
वनजंगलमा पाइने काफल आम्दानीको स्रोत बन्न थालेपछि उहाँहरुले घरको बारीमा समेत काफलका बोटहरु रोप्न थालेको मिनाले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)