बुटवल,फागुन २ ।
बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो ।
मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नु भयो ।मेलाको उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्र सुधारको लागि भईरहेको कृषिजन्य बस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनुभयो ।
नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषिजन्य बस्तुको उपभोग पनि आयातमा धानिएको बताउँदै उहाँले यहि अवस्थामा अगाडि बढ्ने हो भने मुलुकको अर्थव्यवस्था झनै खस्किँदै जाने बताउँनु भयो । मुलुकको अर्थव्यवस्था सुधारको लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने बताउँदै उहाँले यस तर्फ सरकार पनि गम्भिर हुनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिको व्यवसायिक विकासको लागि प्रवद्र्धनात्मक रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले कृषि बस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिवल आयोजना गरिएको बताउनु भयो । त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने र खाने प्रबृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको उहाँले बताउनु भयो ।
मेलाको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यवसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन, उत्पादित बस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ ? त्यसतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गी, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यहि फागुनको ६ गते सम्म चल्ने छ । मेलामा ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।
संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला सफलता पूर्वक सम्पन्न गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)