बुटवल,माघ २० ।
राज्यको गलत नीति नियमका कारण उद्योगी व्यवसाय संकटमा परेको ईटा उद्योगी व्यवसायीले बताएका छन् ।
राज्यको गलत नीतिकै कारण खर्वौको लगानी धरापमा परेको र उद्योगी व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरुले बताए ।लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीको शुक्रबार रुपन्देहीको तिलोत्तमा सम्पन्न २४ औं बार्षिक साधारण सभामा बोल्ने उद्योगी व्यवसायीले उद्योगमैत्री नीति ल्याउन राज्यसंग माग गरेका छन् ।
लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष अजयकुमार गुप्ताले बैंकहरुको चर्को व्याज तिरेर ईटा उद्योगहरु सञ्चालन गर्न नसकिने बताउंदै उद्योगी व्यवसायीका समस्याप्रति गम्भीर बन्न राज्य र तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।उक्त कार्यक्रममा बोल्दै ईटा व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार हरिप्रसाद अधिकारीले देशमा व्यवस्था परिवर्तन भएपनि राज्यको नीति ठिक नहुंदा उद्योगी व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रममा सिद्वार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपानेले आयकर र अन्त शुल्क तिरेपनि उद्योगी व्यवासायीका समस्या राज्यले बुझ्न नसकेको बताउनुभयो ।ईटा उद्योगी शखरमिया अन्सारीले राज्य निर्माणको मेरुदण्डको रुपमा रहेका ईटा उद्योगहरु धरापमा पर्दापनि राज्यबाट केही सहयोग नमिलेको गुनासो गर्नुभयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, चेम्वर अफ कर्मश रुपन्देही अध्यक्ष अनिल ज्ञवाली, पत्रकार सम्झना शर्मा लगायतले बोल्दै अर्थतन्त्रमा योगदान पुराउंदै आएका उद्योगी व्यवसायीका समस्याप्रति राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीले पत्रकार यमलाल भुसाल र रविन्द्र गुप्तालाई नगदसहित सम्मान गरेको छ । अजयकुमार गुप्ताको अध्यक्षता, दीपक पौडेलको सञ्चालन र मिनबहादुर पुनको स्वागतमा कार्यक्रम भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)