बुटवल,माघ २ ।
हिजाे पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि रुपन्देहीको सैनामैना ५ मा पर्ने सेरवा बस्ती पनि शोकमा डुबेको छ। विमान दुर्घटनामा सो एयरलाइन्सकी एयर होस्टेज सिर्जना हुङचुङ (सिर्जु थापा) को पनि मृत्यु भएपछि उनको परिवारसँगै बस्ती शोकमा परेको हो।
सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट विद्यालय शिक्षा पूरा गरेकी सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक गरेकी थिइन्। स्नातकपछि बुटवलमै एयर होस्टेस तालिम लिएकी थिइन्। तालिमलगत्तै २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिरहेकी थिइन्।
जगिरको सिलसिलामा उनी काठमाडौं नै बस्थिन्। गत दसैंमा उनी एक हप्ताको बिदा लिएर आफ्नो घर सैनामैना आएकी थिइन्। भाइ बिरामी भएपछि बिदा थप गरेर केही दिन बसी काठमाडौं फर्केकी थिइन्। त्यसयता उनी घर आउन नपाएको सिर्जनाका भिनाजु रेवन्तबहादुर सिंजालीले बताए।
शनिबार बेलुका मात्र सिर्जनाले परिवारका सबै सदस्यसँग भिडिओमा कुरा गरेकी थिइन्। परिवारमा बुबा, आमा, दुईवटा दाइ र भाउजू, भदाभदै र एउटा भाइ छन्। सिर्जना परिवारकी एक्ली छोरी हुन्। भिडिओ कलमा भोलिपल्ट आफ्नो पोखरा फ्लाइट रहेको बताएकी थिइन्।
उनकी भाउजू सरस्वती थापा काम विशेषले काठमाडौं जाँदै थिइन्। आमा खिमिसराले छोरीलाई बटुक पठाइदिने तयारी गरिन्। खिमिसरा र सरस्वतीले बटुक बनाउँदै गर्दा जहाज दुर्घटना भएको खबर आयो। सिर्जनाका माइला दाइले फेसबुकमा जहाज दुर्घटना भएको खबर सुनाएपछि परिवार एक्कासि पीडामा पर्यो।
आफन्तहरूले सम्हाल्ने प्रयार गरे। ‘हिजो बेलुकासम्म केही भएको छैन, सम्भावना छ भनेर सम्हाल्ने प्रयास गर्यौँ। राति १० बजेपछि हामीले भन्यौं’, सिर्जनाका भिनाजु सिंजालीले भने।
विमान दुर्घटनामा मृत्यु भएकी सिर्जनाको सनाखत पोखरामै रहेका आफन्तले गरेका छन्। उताबाट खबर आएपछि आफूहरू जाने सिंजालीले बताए।
‘पोखराका हाम्रा मान्छेलाई सनाखत गर्न लगायौं। एयरलाइन्स कम्पनीमा पनि फोन गर्यौँ। उनीहरूको बोर्ड बैठक बसेर केही निर्णय गर्ला’, उनले भने, ‘त्यसपछि उताबाट खबर आएपछि हामी जान्छौं।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)