Logo बिहिवार, आश्विन १ गते २०८३
images

आर्थिक वर्ष २०७८-०७९  : रुपन्देहीमा ५ अर्ब बजेट फ्रिज !

आर्थिक वर्ष २०७८-०७९  : रुपन्देहीमा ५ अर्ब बजेट फ्रिज !

  • 2.1K
    SHARES

  • आर्थिक वर्ष २०७८-०७९  : रुपन्देहीमा ५ अर्ब बजेट फ्रिज !

    बुटवल,साउन ६ ।

    आर्थिक वर्ष २०७८-०७९ सकिएसंगै रुपन्देहीमा झण्डै ५ अर्ब बजेट फ्रिज भएको छ ।  चालुतर्फ उल्लेख्य खर्च गरका रुपन्देहीका कार्यालयहरूको पुँजीगत खर्चतर्फ भने आधा रकम पनि खर्च गर्न सकेनन् । यहां ४६ प्रतिशत मात्रै पुँजीगत खर्च भएको तथ्यांक छ ।
    जिल्लामा कुल ४३ अर्ब ३६ करोड ४२ लाख विनियोजित बजेट मध्ये ४ अर्ब ९७ करोड ५० लाख  ७१ हजार रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको हो ।  समयमै काम गर्न नसक्दा बजेट फ्रिज हुने दर बढेको हो । झण्डै २१ प्रतिशत पुँजीगत खर्च असार महिनामा मात्रै भएको छ । 
    कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा कुल ४३ अर्ब ३६ करोड ४२ लाख विनियोजित बजेट मध्ये ३५ अर्ब ६८ करोड ६६ लाख ८१ हजार  ४ सय १४ रुपैयाँ अर्थात् ८२ दशमलव २९ प्रतिशत मात्र खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो  ।  

    कुल बजेटमध्ये चालुतर्फ ३४ अर्ब १२ करोड ५८ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९२ दशमलव ०८ प्रतिशत अर्थात् ३१ अर्ब ४२ करोड ३४ लाख ७ हजार खर्च भएको छ । यसै गरी पुँजीगततर्फ अख्तियारी आएको ९ अर्ब २३ करोड ८३ लाख ४५ हजार बजेट मध्ये ४६ दशमलव १५ प्रतिशत अर्थात् ४ अर्ब २६ करोड ३२ लाख ४३ लाख मात्रै खर्च भएको छ ।

    चालु बजेटको एक चौथाइ आएको पुँजीगततर्फको बजेट आधाभन्दा बढी बजेट कर्मचारीहरूले काम नगर्दा फर्केको हो भने  पुँजीगत खर्चतर्फ १ अर्ब ९० करोड ४६ लाख रकम असार महिनामा मात्रै खर्च भएको छ ।

    असार महिना सुरु भए लगतै विकास निर्माणको काम धमाधम हुने गरेको छ भने कमसल र गुणस्तरमा समेत पटबपटक प्रश्न उठ्ने गरेको छ ।
    पुँजीगत तर्फ २ करोड ४२ लाख ५१ हजार रुपैयाँ बजेट छुट्ट्याइएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाले वर्ष भरिमा ३० हजार ९ सय रुपैयाँ मात्र खर्च गरेको छ । यस्तै सडक डिभिजन बुटवलले पुँजीगत तर्फ ३ अर्ब ७७ करोड ६८ लाख ७१ हजार अख्तियारी पाएकोमा  ९९ करोड ३८ लाख २४ हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो जसमध्ये ४५ करोड ५४ लाख असारमा मात्रै खर्च भएको हो ।
    बेलहिया बुटवल व्यापारिक मार्गले ३१ करोड मध्ये १३ करोड ७८ लाख, संघीय आयोजना कार्यान्वयन इकाई सिद्धार्थनगरले १ अर्ब ४६  करोड अख्तियारी पाएकोमा ७७ करोड ९२ लाख खर्चेको छ जसमध्ये ३१ करोड असारमा मात्रै छ ।

    आर्थिक कोरिडोर कार्यालय बुटवलले १४ करोड १९ लाख ५५ हजार मध्ये १ करोड ६४ लाख, जनताको तटबन्ध कार्यक्रमका लागि आएको ६४ करोड ६५ लाख मध्ये २९ करोड ८६ लाख, भूमिगत जल सिँचाई भैरहवा लुम्बिनीका लागि विनियोजित २७ करोड ९५ लाख मध्ये हाल सम्म १९ करोड ६८ लाख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले अख्तियारी पाएको ४ करोड ५० लाख ४० हजार बजेट मध्ये १ करोड ६३ लाख खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 

    पालिका तर्फ मायादेवी गाउँपालिकाका लागि आएको २ करोड, कोटहीमाई गाउँपालिकाका लागि १ करोड ५० लाख, रोहिणीका लागि १५ लाख, कञ्चन गाउँपालिकाले १ करोड ९५ लाख, देवदह नगरपालिकाका लागि १ करोड ५० लाख खर्च  गर्न नसकेर फ्रिज गरेका छन् । 
    भैरहवा स्थित कार्यालयले जिल्लाका संघीय कार्यालय, प्रदेश मन्त्रालय र जिल्लाका स्थानीय तहलाई निकासा दिने गर्छ । रुपन्देहीका १ सय ३४ कार्यालयहरूलाई बजेट निकासा दिने र ९९ वटा कार्यालयबाट राजस्व असुली हुने गर्छ ।
    प्रमुख कोष नियन्त्रक ज्ञवालीका अनुसार पुँजिगत तर्फ असार महिना सम्ममा खर्च भएको रकम ४ अर्ब २६ करोड रुपैयाँ मध्ये १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ असार महिनामा मात्र खर्च भएको छ, वर्ष भरि खर्च भएको रकमको ४४ दशमलव ६७ प्रतिशत असार महिनामा मात्रै खर्च भएको हो । 

    खर्च गर्नलाई ४३ अर्ब पाएको रुपन्देही जिल्लाले केन्द्रलाई १ खर्व ४३ अर्ब ६४ करोड बढी राजस्व उठाएर पठाएको छ । ज्ञवालीका अनुसार कुल राजस्वको करिब २२ देखी २४ प्रतिशत योगदान रुपन्देहीबाट हुने गर्छ, वर्ष भरि सबैभन्दा बढी राजस्व उठाएको भैरहवा भन्सार कार्यालयले भन्सारले १ खर्ब १५ अर्ब ८८ करोड राजस्व संकलन गरेको छ ।

    यसै गरी आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ९० करोड ९ लाख,  आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ६६ करोड ४२ लाख,कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पनि ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
    बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजूले पाएको रकम पनि खर्च गर्न नसक्नु नेपालको पुरानै रोग रहेको बताउनुहुन्छ ।

    ‘बिभिन्न बहानामा बजेट फ्रिज गराउने परिपाटी अन्त्य नभएसम्म बिकासका काम गुणस्तरीय समेत हुदैनन् ,भने असारमा मात्रै खर्च गर्ने परिपाटी रोक्नुपर्छ ।’उहाले भन्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology