बुटवल,असार ८ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत विनियोजित बजेटको खर्च निरासाजनक अवस्थामा देखिएको छ ।
लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ४५.३३ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशको लेखा नियन्त्रण कार्यालयका अनुसार जेठ मसान्तसम्म प्रदेशले चालु र पुँजीगत गरी कुल १८ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ खर्च गरेको हो । चालुतर्फ ८ अर्ब ४३ करोड २१ लाख रुपैयाँ र पुँजीगततर्फ १० अर्ब १३ करोड ५३ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अन्य वित्तीय व्यवस्थापनतर्फ के–कति खर्च गरियो भन्ने रिपोर्टमा नदेखाएको प्रदेशले कुल बजेटको ४५.३३ प्रतिशत खर्च भएको जनाएको छ । चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
मुलुकका ७ मध्ये अधिकांश प्रदेशले विनियोजित बजेटको ५० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् ।
केही प्रदेशले चालु आर्थिक वर्षको विनियोजित बजेटको चालु र पुँजीगत गरी एकमुस्ट ३० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । सम्बन्धित प्रदेश सरकारको अर्थ तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा अधिकांश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ४० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)