बुटवल,बैसाख ८ ।
६ करोड बढीको कारोबार गर्दै चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको मेला सफल भएको उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए ।
उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको बताए । महोत्सवमा साना कुटिर उद्योगबाट उत्पादित वस्तुलाई प्रर्वद्धन एबम् बजारीकरण गर्ने उदेश्य रहेको थियो ।
१२ दिनसम्म तम्घासको चिदिचौर खेलमैदानमा चलेको महोत्सवमा करिब ६ करोड बढीको आर्थिक कारोबार भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । चैत २५ गतेबाट सुरु भएको महोत्सव वैशाख ६ गतेसम्म चलेको थियो ।
उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले महोत्सवमा सहयोग गर्ने विभिन्न संघ संस्थालाई समापनको अवसरमा धन्यवाद दिए ।
महोत्सवमा उत्साहजनक सहभागिताले सफलतापूर्वक सम्पन्न भएको पौडेलले बताए । महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरूसँगै जिल्लास्थित उत्पादन हुने कृषि जन्य समग्रीहरू, मनोरञ्जनात्म पिङ्गलगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री वितरणको लागि राखिएको थियो । महोसत्वमा दुई सय स्टल रहेका थिए ।
त्यसमध्ये १५ वटा स्टलहरु कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको प्रर्दशन गरिएको थियो । जिल्लामा उत्पादिन कफी, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक वस्तुहरूलगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको थियो ।
महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने महासचिव तारा भुसालले बताए ।
महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभूमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारसँगै सांस्कृतिक कार्यक्रम भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)