बुटवल,फागुन १० ।
रूपन्देहीको तिनाउ–दानव कोरिडोरको ठेक्का पाएको निर्माण कम्पनी सम्पर्कविहिन भएको छ । कोरिडोर अन्तरगत तिनाउ खण्डको मगरघाटदेखि अमुवासम्मको ठेक्काको लागि स्वीकृत भएको ठेकेदार कम्पनी सम्झौता गर्न नआएपछि निर्माण कार्य अन्यौलमा परेको छ ।
ठेक्का प्राप्त गरेको भारत–सप्तकोसी जे.भिले सम्झौताका लागि ६ दिन म्याद नाघ्दा समेत सम्पर्कमा नआएको हो । सम्झौता हुनुपर्ने मिति बितिसक्दा पनि सम्झौता गर्न नआएपछि निर्माण व्यवसायमा तरङ्ग उत्पन्न भएको छ। सडक डिभिजन कार्यालय बुटवलबाट बैशाख ३० गते कोरिडोरको मगरघाटदेखि अमुवासम्म सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र आह्वानपछि गत मंसिर २८ गते खोलिएको आसय प्रस्तावमा सबैभन्दा न्यून रकममा भारत–सप्तकोसी जे.भि दाबी गरेको थियो । कम्पनीले ८८ करोड ३१ लाख ४ हजार ४९९ रुपैया ५३ पैसा कबुल रकम गरेकाले सडक विभागबाट सडक विभागबाट छनोटमा परेको थियो ।
सोही आधारमा सडक डिभिजन कार्यालय बुटवलले यही फागुन ३ गते भित्र कार्य सम्झौता गर्नका लागि १५ दिने सूचना जारी गरे पनि कम्पनीले उपस्थित नभएको हो । ठेक्का सम्झौता गरिसक्नका लागि गत माघ १२ गतेको मितिमा कार्यालयले १५ दिने सूचनाका साथ ठेकेदार कम्पनीलाई पत्रचार गरेको थियो ।
तर, ठेकेदार कम्पनी हालसम्म पनि सम्झौता गर्न नआएको हो ।सार्वजनिक खरिद ऐन अनुसार यसरी सम्झौताको नियम उल्लङघन गर्ने ठेकेदार कम्पनीको धरौटी जफत गरि कालो सूचिमा सुचिकृत गर्ने नियम रहेको छ। सार्वजनिक खरिद ऐन अनुसार पहिलो कम कबोल गर्ने कम्पनि ठेक्का सम्झौता गर्न नआएको खण्डमा दोस्रो कम कबोल गर्ने कम्पनिलाई ठेक्का सम्झौताका लागि पत्रचार गर्ने प्रावधान रहेको छ।
दानव खण्डको बेलबासदेखि नयाँगाउसम्म सडक निर्माण गरिरेहेको लामा-बानिया जे.भिले दोस्रो कम मुल्य कबोल गरेको थियो । नियमानुसार निर्माणको जिम्मेवारी आफूले पाउनु पर्ने कम्पनीको दाबी रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)