बुटवल,माघ ६ ।
काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ ।
माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए । उनले भने, ‘२ गतेदेखि हुन लागेको काठमाण्डौं युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेका छौं ।’
विश्वविद्यालयले लिने कुनै पनि परीक्षामा विद्यार्थी संक्रमित भएको प्रमाणपत्र पेस गरे सेमेस्टर अथवा वर्ष नगुम्ने गरी तत्काल परीक्षाको व्यवस्था गर्ने निर्णय समेत गरेको प्याकुरेलले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्।
संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि परीक्षा नरोक्ने पक्षमा छन् ।
लक्षण देखिएका विद्यार्थीहरुलाई छुट्टै कक्षको व्यवस्था :
पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहन बस्नेतले परीक्षा केन्द्रहरुलाई लक्षण देखिएका विद्यार्थीहरुलाई छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको बताए । तर केही विद्यार्थी संक्रमित भएकै कारण परीक्षा स्थगित गर्ने र संक्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने व्यवस्थाबारे कुनै पनि निर्णय नभएको बताए ।
विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)