बुटवल,मंसिर २२ ।
हेफर इन्टरनेसनल नेपालले कृषि सहकारीलाई कृषि उत्पादन ढुवानीको सवारीसाधन प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी ४७ वटा सवारीसाधन कृषि सहकारीलाई प्रदान गरिएको हो । सवारीसाधनको चाबी प्रदेश प्रमुख अमिक शेरचनले सहकारीका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।
कृषिजन्य उत्पादनको बजारीकरणको क्रममा नियमित ढुवानी सेवा उपलब्धता प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सहकारी तथा हेफर इन्टरनेसनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गर्ने गरी प्रदान गरिएको हेफरका कार्यक्रम संयोजक अनन्तराम सिलवालले जानकारी दिए ।
पहिलो चरणमा २८ वटा र हाल ४७ वटा गरी जम्मा ७५ वटा सवारीसाधन कृषि सहकारीलाई प्रदान गरिएको उनले बताए । सवारीसाधन २२–२४ लाख रुपैयाँका हुन् । त्यसमा सहकारी र हेफरको ५०-५० प्रतिशत लगानी रहेको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै सवारीसाधन सहकारीलाई प्रदान गरिएपछि बजारीकरणमा टेवा पुग्ने बताए ।
हेफरका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले मूल्य शृंखलामा आधारित बजार प्रणाली विकास तथा प्रवद्र्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य अनुसार देशभर १६० संकलन केन्द्र तथा ५२३ शाखा संकलन केन्द्रहरू स्थापना गरी दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएको बताए ।
हेफरले १ नम्बर प्रदेशका झापा र मोरङका ३ वटा, २ नम्बर प्रदेशको सर्लाहीका १, महोत्तरीका १, बागमती प्रदेशको चितवनका ३, धादिङका ३, सिन्धुलीका १ र नुवाकोटका २ वटा सहकारीलाई सवारीसाधन प्रदान गरेको छ ।
गण्डकी प्रदेशबाट बाग्लुङका २, नवपरासीका २, कास्कीका २, लमजुङका १, तनहुँ र पर्वतका १र१ वटा कृषि सहकारीलाई सवारीसाधन प्रदान गरिएको छ । लुम्बिनी प्रदेशमा दाङका १, पाल्पाका ७, प्युठानका १, बाँकेका ५, गुल्मीका २, कपिलवस्तुका १, कर्णाली प्रदेशबाट बर्दियाका ३ र सुर्खेतका २ गरी ४७ वटा सहकारीलाई सवारीसाधन प्रदान गरिएको छ ।
किसानले उत्पादन गरेका पशु र कृषिजन्य उपजको ढुवानीमार्फत ४७ सहकारीमा आवद्ध ४५ हजार किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।
कार्यक्रममा प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, कृषि विकास निर्देशनालयका सह निर्देशक लोकनाथ पौडेल, नेकपा एमालेका सचेतक सरस्वती गौतम, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री लगायतले आ -आफ्नो भनाई राखेका थिए ।

यता महिन्द्रा कम्पनीले हेफर ईन्टरनेशनल नेपालललाई ती गाडीको चाबी हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी महिन्द्रा कम्पनीका नेपाल, भुटान कन्ट्री म्यानेजर गौरव पाण्डेले हेफरका डा महिन्द्र लोहोनी, मिना जोसी, डा तिर्थराज रेग्मी सहितको टोलीलाई गाडीको चाबी प्रदान गरेको हो ।
हेफरले किसानहरुको लागि वितरण गर्न ४७ वटा पिकअफ भ्यान खरिद गरेको थियो । सोही विषयमा महिन्द्राले एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा धन्यबाद सहित चाबी प्रदान गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)