औद्योगिक मैत्री वातावरणको अभावःप्रदेश प्रमुख शेरचन
बुटवल, मंसिर १५ ।
रुपन्देही उद्योग संघले आफ्नो ४४ औँ स्थापना दिवश विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । बुधवार संघको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी अग्रज उद्योगी सम्मान तथा उत्कृष्ट औद्याोगिक पत्रकारिता पुरस्कार २०७७ वितरण गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रले निकै कठिन परिस्थितिको सामना गरिरहेको बताउँदै राज्यको प्रभावकारी भूमिका, निजी क्षेत्रको सक्रियता र उपभोक्ताको साथ र सहयोग विना मुलुकले औद्योगिक विकास हुन नसक्ने धारणा राख्नु भयो ।
उहाँले स्थापना दिवशको घडीमा सबैको सहकार्य एवं राज्यको अभिभावकत्वमा जोड दिनु भयो । वि.सं.२०३५ सालदेखि आप्mनो लक्ष्य प्राप्तिमा अनवरत अघि बढिरहेको संघ अगाडीका दिनमा पनि आफ्नो लक्ष्यबाट पछि नहट्ने प्रतिवद्धता जनाउनु भयो । समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीहरुमा रहेको परनिर्भरको भावनाको अन्त्य हुनुपर्ने धारणा राख्नु भयो । उहाँले औद्योगिक क्षेत्रको लागि आवश्यक औद्योगिक मैत्री बातावरण बनाउन नसक्दासम्म राष्ट्रिय उद्योगको विकास हुन सक्दैन भन्दै मुहानमा शुद्ध राख्न आग्रह गर्नु भयो ।
प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवश्यकता रहेको बताउँदै बास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने सुझाव दिनु भयो । उहाँले राजनीतिक दलहरुप्रति इंंगित गर्दै हामीमा राष्ट्रलाई हेर्ने दृष्किोणमा त्रुटी भएका कारण र विदेशीको गुलामी गर्ने प्रवृतिले वास्तविक समस्याहरु समाधान हुन नसकेको धारणा राख्नु भयो ।
राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगत रुपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उहाँले प्रतिस्पर्धाको युगमा आफुलाई त्यसै अनुसार उभ्याउन सक्नुपर्ने बताउनु भयो ।
सम्बोधनका क्रममा आफुले बुटवल क्षेत्रमा २०११ देखि २०१५ सालसम्म समय विताएको स्मरण गर्दै स्वदेशी घ्यूलाई विस्थापन गर्न भारतीय डाल्डा घ्यू योजनाबद्ध रुपमा नेपालमा भित्र्याएको भन्दै घ्यू आन्दोलनले स्थापित भएको यस क्षेत्रको औद्योगिक आन्दोलनको निकै ठूलो महत्व रहेको बताउनु भयो ।
प्रदेश प्रमुख शेरचनले उद्योग र उद्योगीका समस्याहरुलाई राज्यले सम्बोधन गर्ने बातावरण सिर्जना गर्न आफुले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सहि कार्यान्वन एवं प्रयोग गर्न नसकिएको धारणा राख्नु भयो । उहाँले पछिल्ला समयमा उद्योगबाट पलायन भएर व्यापार तिर लाग्ने प्रवृति बढेको प्रति सचेत गराउदै त्यसको कारण खोज्दै समस्याहरुको पहिचान गरी औद्योगिक विकास लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले उद्योग संघले आफु र आफ्नो ब्राण्ड स्थापित गर्न धेरै समय खर्चको स्मरण गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्ने कुरालाई प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, संघका पूर्व अध्यक्ष डम्मदेव अर्याल, पुरस्कृत पत्रकार दामोदर खनाल, सम्मानित उद्योगी राजेन्द्रसिंह गुरुङ, निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि प्रसाद अर्याल लगायत बोल्नु भएको थियो ।
कार्यक्रम संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा वरिष्ट उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।
सो अवसरमा संघले अग्रज उद्योगीहरु भुपाल कुमार श्रेष्ठ, बसन्तध्वज जोशी, स्व.रतनलाल अग्रवाल, बसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाललाई पुरस्कृत गरिएको थियो ।
यसैगरी कार्यक्रममा उद्योगी बिष्णु कुमार श्रेष्ठको असामयिक निधनले परिवारमा पु¥याएको क्षतिमा केही मलम लगाउने उद्देश्यले संघको तर्पmबाट रु.२००००।—र २०७६-२०७८ पदाधिकारी तथा कार्यसमिति सदस्यहरुबाट व्यक्तिगत रुपमा संकलन गरिएको ३५६००।— गरी कूल रकम रु. ५५६००। वहाँकी श्रीमती रिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
४४ औं स्थापना दिवशका अवसरमा रुपन्देही उद्योग संघले बुधवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ६४ युनिट रगत संकलन भएको थियो । रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा संघले आयोजना गरेको रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा संघका अध्यक्ष माधव प्रसाद पौडेलले वर्तमान असहज परिस्थितिमा संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लाग्ने धारणा राख्नु भयो । उहाँले संघले विगतदेखि गर्र्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ योजनाहरुको खोजी गरिने जानकारी दिनु भयो ।
कार्यक्रम संघका महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा कार्यक्रम संयोजक लालाहरि पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)