बुटवल,असोज २२ ।
सहकारीहरुमा थोरै-थोरै रकम जम्मा गरेर भविष्यको सपना देखेका सदस्यहरुको विश्वास जोगाई राख्नेतर्फ ध्यान दिन सहकारी अभियन्ताहरुले सुझाव दिएका छन् ।
नाम अनुसारको काम सम्पादनमा ध्यान नदिदा सहकारीमाथीको विश्वास गुम्ने खतरा बढेको उल्लेख गर्दै उनीहरुले सहकारीले बचत गर्ने र ऋणप्रवाह गर्ने मात्र नभई उत्पादनमुलक क्षेत्रमा जोड दिन आग्रह गरे ।
बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने सहकारी अभियन्ताहरुले सहकारीमा अव उत्पादनमुलक योजना ल्याउनुको विकल्प नभएको बताएका हुन् ।
शुक्रबार साधारण सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सांसद रमा अर्यालले सहकारीलाई उत्पादनमुलक कार्य गर्न सुझाव दिनुभयो । उहाँले थोरैथोरै रकम जम्मा गरेर भविष्यको सपना बुनेका शेयर सदस्यको सारथी बन्दै सहकारीहरु उत्पादनको क्षेत्रमा सक्रिय हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश बिशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरु बचत तथा ऋण लगानीमै खुम्चिएका कारण ठुलो रकम बचतमै सीमित भएको बताउनुभयो । उहाँले सहकारीमा जम्मा भएको रकमलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरेर थोरैथोरै रकम जम्मा गरेर भविष्यको सपनादेखेकाहरुको बैशाखी बन्न सहकारीहरुलाई सुझाव दिनुभयो ।
ईन्द्रेणी सहकारीका अध्यक्ष धुव्रकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संरक्षक भुपाल कुमार श्रेष्ठ, बाबुराम राना, सहकारीका पुर्व अध्यक्ष मित्रबहादुर शाक्य, शिवलाल राना, उपाध्यक्ष कृष्णप्रसाद अर्याल लगायतले सहकारीहरुलाई सिद्धान्त संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
संस्थाका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले ७४ करोड ६२ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुई हजार दुईसयबढी सदस्य रहेको सहकारीले आफ्ना सदस्यका लागि ४ करोड ५४ लाख ५२ हजार लघुवित्त कर्जा, एक करोड ५० लाख ५९ हजार लघुउद्यम र ५ करोड ३९ लाख ८१ हजार नियमित कर्जा प्रवाह गरेको र ती लगायतका शिर्षकका ४३ करोड ६२ लाख १९ हजारबढी रकम शेयर सदस्यका लागि लगानी गरेको कोषाध्यक्ष श्रीसले जानकारी दिनुभयो ।
साधारण सभाको अवसरमा जेष्ठ सदस्यद्वय आनन्दराज बज्राचार्य र गंगादेवी गाहालाई जेष्ठ शेयर सदस्य सम्मानले सम्मान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)