बुटवल,असाेज ५ ।
चुरे पहिरो नियन्त्रण र व्यवस्थापनमा प्रदेश र संघीय सरकार गम्भीर नभएको एमाले बुटवल उपमहानगर कमिटीले बताएको छ।
मङ्गलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले बुटवल उपमहानगर कमिटीले पहिरोग्रस्त क्षेत्रको जोखिम कायमै रहेकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा प्रदेश र संघ सरकार गम्भीर भएर लाग्नुपर्ने बताएको हो।
एमाले बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले पहिरो नियन्त्रण र व्यवस्थापन स्थानीय सरकारको ‘ग्रीप’बाट बाहिर गएको बताए। ‘स्थानीय तहमा हाम्रो पार्टी नेतत्त्वको सरकार छ। संघ र प्रदेशलाई देखाएर स्थानीय तह उम्कने होइन, यो स्थानीय सरकारले मात्र समधान गर्ने अवस्था रहेन। यहाँ अब अर्बौँ रुपैयाँ लाग्छ’, उनले भने।
उनले बुटवलको स्थानीय सरकार यस विषयमा गम्भीर रहेको बताउँदै चुरे पहिरो नियन्त्रण र व्यवस्थापनमा आवश्यक परे स्वयंसेवक समेत परिचालन गर्न सकिने बताए। यस्तै बुटवलको मुख्य र भित्री राजमार्गका बारे आएका समाचारमा समेत उनले टिप्पणी गरेका थिए।
संघ र प्रदेश सरकारका योजना सम्पन्न नहुनमा समेत बुटवल उपमहानगरको आलोचना हुने गरेकोमा असन्तुष्टि जनाउँदै उनले योजना सम्पन्न नभएका बारे सम्बन्धित सरकारलाई जवाफदेही बनाउनुपर्नेमा मिडियाले समेत त्यसतर्फ चासो नदिएको बताए।
यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको आलोचना समेत गरिएको थियो। आक्रमणकारीमाथि मुद्दा नचलाउने पनि अध्यक्ष पन्थीले कार्यक्रममा बताएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)