बुटवल,साउन २६ ।
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् ।
वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ ।
अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारको पालामा मुलुकको सार्वजनिक ऋण २५० प्रतिशतले बढेको पाइएको हाे । शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा देशको वर्तमान आर्थिक स्थितिको जानकारी सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
आर्थिक वर्ष २०७३-७४ मा कूल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ उत्पादनको २२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७-७८ मा २५० प्रतिशतले वृद्धि भइ १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात् कूल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुगेको विवरण उनले सार्वजनिक गरेका छन्।
कूल तिर्न बाँकी ऋणमध्ये आठ खर्ब एक अर्ब आन्तरिक ऋण र नौ खर्ब २८ अर्ब बाह्य ऋण रहेको उल्लेख छ। आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक ऋण दुई खर्ब २४ अर्ब रुपैयाँ र वैदेशिक ऋण एक खर्ब ४० अर्ब रुपैयाँ गरी जम्मा तीन खर्ब ६४ अर्ब रुपैयाँ अर्थात् कूल संघीय खर्चको ३०.८ प्रतिशत परिचालन भएको उनले बताएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)