बुटवल,चैत्र १०-
नेपालमा प्रत्येक वर्ष ६९ हजार जना क्षयरोगका बिरामी थपिने गरेका छन् । नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर छन् ।नेपालमा एक दिनमा ४६ क्षयरोगीको मृत्यु हुने गरेको छ।
उपचारको दायरामा नआएका करिव ४१ हजार क्षयरोगका नयाँ बिरामी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउन राष्ट्रिय क्षयरोग कार्यक्रमलाई ठूलो चुनौती रहेको बताइन्छ ।आर्थिक वर्ष २०७५-७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिव ६९ हजार जना नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन्।
नेपालमा हाल नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या वार्षिक करिव १ लाख १७ हजार जना रहेको आँकलन गरिएको छ। आर्थिक वर्ष २०७६-७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन्।
यस्तै गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरुको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोगका बिरामी पत्ता लागेको थियो। उनीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको नीति अनुसार उपचार गरिएको थियो।
क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत रहेको छ। यस्तै उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान गरिएको छ।
हाल देशभर ४ हजार ९ सय ५५ उपचार केन्द्रहरुबाट डस्ट उपचार सेवा तथा ७६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवम् २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिएको छ।
यस्तै, औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र। ८१ वटा उपचार उपकेन्द्र र ६ वटा डिआर होस्टेल, एउटा डिआर होम र एउटा टिटिआरएमसी मार्फत सेवा उपलब्ध गराइएको डा भट्टचनको भनाइ छ। नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।
विश्व स्वास्थ्य संगठनको आंकलनका अनुसार नेपालमा वार्षिक रुपमा करिव २ हजार २०० औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन्।
गत आर्थिक वर्ष २०७६र७७ मा औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको थियो।
अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मंगलबार आयाेजित कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका क्षय/कुष्ट निरिक्षक टीकाराम अधिकारीले बताए ।
औषधि प्रतिरोधी क्षयरोगको बिरामी बढ्दै गर्दा उनीहरुको प्रभावकारी व्यवस्थापनमा सरकारलाई चुनौती थपिएको उनले बताए।
क्षयरोगका बिरामीहरुलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्न असहज भएको भन्दै सरकारले आगामी ५ वर्षभित्रमा नेपालमा सबै जिल्लाहरुमा बिरामीको घरमै औषधि खुवाउन समुदायमा आधारित क्षयरोग उपचार व्यवस्थापन कार्यक्रमको विस्तार गर्ने तयारी थालेको लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका ईन्चार्ज सत्यराज शाक्यले नागरिक अनलाइनलाइ जानकारी दिए ।
लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना :
कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीले डिआर टिवि उपचार धेरै कठिनाई हुने गरेको बताए । सरकारको पहिलो प्राथमिकतामा यसको उपचार निशुल्क गराएको भएपनि सचेतना अभावले समस्या देखिने उनले बताए ।
रुपन्देही जिल्लामा ९२ वटा स्वस्थ्य केन्द्रबाट आषधी उपचार उपलब्ध रहेको उनले बताए ।कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्रप्रसाद खनाल, वरिष्ठ फिजिसियन नन्दु पाठक लगायतले बोल्दै समाजमा बिस्तारै क्षयरोगी खुल्न थालेको बताए ।
लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना तथा प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना विरामी छन । बुटवल उपमहानगरपालिकामा डिआर टिवी सेवा संचालन गर्दा शुरुवातमा धेरै कठिनाई आएको स्वास्थ्य स्वयंसेवी पुष्पा न्यौपाने शर्माले बताइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)