बुटवल,फागुन ९-
बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले आफूले पपुलर भाेट सहित अध्यक्षमा चुनाव जित्ने दाबी गरेका छन् । अर्यालले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा समेत गरे ।
पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघमा वर्तमान वरिष्ठ उपाध्यक्ष उज्वल कसजु र वाणिज्य उपाध्यक्ष हरि अर्याल अध्यक्ष पदमा भिड्ने संकेत गरेका छन् ।
विगतको कार्यकालमा व्यवसायीहरुको सेवामा आफुले निभाएको भूमिका र नेतृत्वमा हुनुपर्ने सबै योग्यता आफुसँग भएकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।
अर्यालले समन्वय, दवाव र निर्णय गर्ने तीनैवटा क्षमता आफुसंग रहेको दाबी गरे । अर्यालले आफु एक्लै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै बाँकी अन्य सबै पदका उम्मेदवार नै आफ्नो टिम हुने जनाए । व्यवसायीक संस्थाहरुमा भाषा,जाती,आस्थाका आधारमा प्यानल बन्न नहुने भन्दै उनले वस्तुगत व्यवसायीहरुलाई समेटेर भने टिम बन्न सक्ने बताए ।
संघको कार्यसमिति सदस्यबाट महासचिव हुँदै वाणिज्य उपाध्यक्षसम्म पुगेका अर्यालले अध्यक्ष पदका लागि आफुलाई संघका पूर्व अध्यक्षहरुको समेत समर्थन रहने दाबी गरे ।
उनले पत्रकार सम्मेलनमा वितरण गरेको प्रतिबद्धतापत्रमा बुटवलको प्रमुख व्यवसायिक क्षेत्र सिद्धार्थ राजमार्गको सर्भिस लेनलाई व्यवसाय मैत्री बनाउने, योगीकुटीदेखि सब्जीमण्डीसम्मको बाइपास सडकलाई छिटो सम्पन्न गर्नका लागि दबाब सिर्जना गर्ने, राजस्व अनुसन्धान तथा आन्तरिक कर कार्यालयको सुविधालाई व्यवसायी मैत्री बनाउन पहल गर्ने लगायतका विषयहरु छन् ।
सोमबारदेखि फागुन १३ गतेसम्म हुन लागेको संघको ६७ औं साधारणसभा तथा २४ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । संघमा १६१३ जना सदस्य छन् ।
यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)